राप्रपामा दुई लाइन : ज्ञानेन्द्रसँग नजिक हुने कि कांग्रेससँग

 

३० जेठ, काठमाडौं । पार्टी एकताका लागि वार्ता समितिसमेत बनाइसकेका राप्रपाका दुईवटा समूहभित्र पूर्वराजा ज्ञानेन्द्रसित नजिक हुने कि नेपाली कांग्रे लगायतका गणतन्त्रवादी शक्तिसँग नजिक हुने भन्ने विषयमा दुईवटा धार देखिएका छन् । विशेष गरी पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकभित्र कमल थापासँग पार्टी एकता गर्ने कि कांग्रेससँग मिल्ने भन्ने विषयमा दुई फरक लाइन देखा परेका छन् पूर्वराजा ज्ञानेन्द्रको सल्लाह मान्ने नेताहरु कमल थापासँग एकता गरेर संवैधानिक राजतन्त्र एवं हिन्दु राष्ट्रको नारामा अघि बढ्नुपर्ने लाइनमा छन् । राप्रपा प्रजातान्त्रिककै अर्को समूहचाहिँ गणतन्त्रलाई स्वीकार गर्दै कांग्रेस र राजपासँग एकता गर्नुपर्ने पक्षमा उभिएको छ । कमल थापाको पार्टीभित्र चाहिँ कांग्रेससँग मिल्नुपर्छ भन्ने धार देखिएको छैन । यद्यपि पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकता गर्नुपर्छ र गर्नुहुँदैन भन्ने अन्तरविरोध कमल थापाको पार्टीभित्र देखा परेको छ । राजा ज्ञानेन्द्रका विश्वासपात्र मानिँदै आएका राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनीले भने अहिलेसम्म कुनै वार्ता समिति गठन गरेका छैनन् । तर, उनी राजतन्त्रकै लाइनमा उभिँदै आएका छन् र उनी कमल थापालाई नेता मानेर पार्टी एकता गरिहाल्ने पक्षमा छैनन् । पूर्वराजादेखि कार्यकर्तासम्मको दबाव केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा शर्मनाक पराजयपछि देशभरिका कार्यकर्ताहरुबाट तीनवटै राप्रपा समूहलाई एकताका लागि दबाव आइरहेको छ । यहाँसम्म कि पूर्वराजा ज्ञानेन्द्रले पनि पशुपतिसमशेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई भेटेर चाँडो एकता गर्न भनेका छन् ।

स्रोतका अनुसार ज्ञानेन्द्रको सुझाव छ कि यदि राप्रपा समूहहरु मिले भने तिनीहरुको भविश्य छ र तिनलाई उनको पनि समर्थन रहनेछ । तर, तिनीहरु पार्टी एकतामा असफल भए भने राप्रपाको कुनै भविश्य छैन र उनीहरुलाई ज्ञानेन्द्रको पनि साथ रहने छैन ।

पूर्वराजाले निर्वाचन सकिएलगत्तै झापाको हिमालय टी स्टेटमा राप्रपाका तीनवटै समूहका कनिष्ट नेताहरुलाई भेटेर एकताका लागि सबै शीर्षनेतालाई दबाव दिन भनेका थिए । पछि ज्ञानेन्द्र आफैंले पशुपति, लोकेन्द्र र कमल थापा लगायतका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेट गरे ।

चुनाव सकिएपछि राप्रपाका समूहलाई मिलाउन कस्सिएका पूर्वराजा ज्ञानेन्द्र चुनाव अघिसम्म चाहिँ एकीकृत राप्रपालाई फुटाउन र कमजोर पार्न लागिपरेका थिए । कमल थापा नेतृत्वको राप्रपाका एक केन्द्रीय नेताले अनलाइनखरसँग भने- चुनावअघि पूर्वराजा ज्ञानेन्द्रले रामकुमार सुब्बालगायतलाई नउचालेको भए राप्रपा यति कमजोर हुने थिएन । त्यसैगरी लोकेन्द्रबहादुरहरुलाई उनले सम्झाएको भए राप्रपा शायदै फुट्ने थियो । ज्ञानेन्द्रदेखि प्रचण्ड र ओलीसम्मलाई दोष कमल थापा नेतृत्वको राप्रपाका नेताहरु आफ्नो पार्टी फुटाउन ज्ञानेन्द्रदेखि प्रचण्डसम्म अनि देउवादेखि ओलीसम्म लागिपरेको आरोप लगाउँछन् । चुनावअघि राणा समूहमा ४० प्रतिशत नपुग्दै राप्रपा फुटेको र त्यसलाई बैधानिकता दिइएको गुनासो कमल थापा पक्षको छ । ४० प्रतिशत नपुग्दा पनि अयोधीप्रसाद यादवले प्रचण्डको कुरा सुनेर पशुपतिसमशेरको पार्टीलाई बैधानिकता दिएको राप्रपा नेताहरुको आरोप छ ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपतिको समूहलाई बैधानिकता प्रदान गरेको गुनासो राप्रपा नेताहरुको छ

कमल थापालाई कमजोर बनाउन ज्ञानेन्द्र, माओवादी, कांग्रेस र दक्षिणतिरको शक्तिसमेत लागेको र राप्रपा कमजोर भएको राप्रपाका केन्द्रीय सदस्यको दाबी छ । प्रतिनिधिसभा चुनावको मुखमा केपी ओलीले कमल थापाप्रति नरम नीति अपनाए पनि रामकुमार सुब्बा समूहलाई उचाल्नमा आर्थिक लगानीसमेत गरेको राप्रपा नेताहरुको आरोप छ । राप्रपा स्रोत भन्छ- ‘केपी ओलीले आफ्ना मानिस खटाएर १२ भाइ सांसदलाई होटलमा राखेर संसदमा आउन नदिएको प्रमाण हामीसित छ ।’

 

चुनावमा राप्रपाले तेस्रो शक्तिको ठाउँ लिन्छ र आफूहरु पछि परिन्छ कि भन्ने डरले प्रचण्डले आफूहरुमाथि षडयन्त्र गरेको राप्रपाका नेताहरुको विश्लेषण छ । त्यसैगरी कमल थापा बलियो हुँदा आफ्नो भोट घट्ने डरले शेरबहादुर देउवाले राप्रपालाई फुटाउने खेल खेलेको आरोपसमेत राप्रपा नेताहरुको छ । ज्ञानेन्द्रले पनि अरुका कुरा सुनेर कमल थापालाई कमजोर पार्न खोजेको विश्लेषण राप्रपाभित्र हुने गरेको छ । ज्ञानेन्द्रसँग नजिकिने कि कांग्रेससँग ? राप्रपा प्रजातान्त्रिकका नेताहरुमध्ये पशुपतिसमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरु संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको लाइनमा छन् । तर, सुनीलबहादुर थापा, हरिबहादुर बस्नेत लगायतका नेताहरु गणतन्त्रलाई स्वीकार गर्दै नेपाली कांग्रेस र राजपासँग एकता गरी वृहत् प्रजातान्त्रिक शक्ति बनाउनुपर्ने पक्षमा छन् ।

 

राप्रपाका तीन समूहवीच पार्टी एकताका लागि वार्ता समूह बने पनि सुनीलबहादुर थापा पक्षचाहिँ कमल थापासँग भन्दा कांग्रेससँग नजिक देखिएको स्रोत बताउँछ । राप्रपा प्रजातान्त्रिकका नेताहरुमध्ये विक्रम पाण्डे कांग्रेससँग मिल्न पनि ठीकै छन् भने पशुपतिसमशेरको पछि लागेर ज्ञानेन्द्रसँग पनि मिल्न तयार छन् । अर्का नेता दीपक बोहोराको स्थिति पनि पाण्डेको जस्तै हो । राजनीतिमा भन्दा आफ्नो पोजिसनमा ध्यान दिने भएकाले पाण्डे र बोहोरा जता फाइदा हुन्छ, त्यता लाग्न तयार रहेको स्रोत बताउँछ । पशुपतिसमशेरको पछि लागेर आफ्नो हित नहुने देखे भने पाण्डे र बोहोरा कुनै पनि बेला कांग्रेसमा जान सक्ने अनुमान राप्रपा प्रजातान्त्रिकका नेताहरुको छ । उनीहरु दुबैले गत चुनावमा चितवन र रुपन्देहीमा नेपाली कांग्रेेससँग सहकार्य गरिसकेका छन् ।

पाण्डेले ठेक्कापट्टाको कमिसनबाट अमेरिकाको न्युयोर्कमा घर बनाएका छन् । उता बोहोरा आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएकाले कुनै पनि बेला अख्तियारबाट तानिने अवस्थामा छन् । यही डरले उनीहरु आफूलाई सुरक्षित हुने मार्गको खोजीमा रहेको स्रोतको दाबी छ ।

 

सुनीलबहादुर थापाचाहिँ आफ्ना पिता स्व. सूर्यबहादुर थापाको लाइनको रक्षा गर्ने पक्षमा छन् । सूर्यबहादुर थापाले राजतन्त्र पुनस्थापनाको विरोध गरेको र गणतन्त्रलाई स्वीकार गरेको हुनाले आफूहरुले अब कांग्रेस र राजपासँग मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने सुनीलको तर्क छ ।

पूर्वपञ्चहरुको पार्टीभित्र देखा परेको अर्को रोचक आयाम के छ भने पूर्वराजा ज्ञानेन्द्रले चुनावपछि कमल थापामाथि भर गर्न खोजेता पनि स्वयं कमल थापाले ज्ञानेन्द्रसँग चित्त दुःखाएका छन् । ज्ञानेन्द्रले मूर्खतापूर्ण चलखेल गरेर पार्टी फुटाइदिएपछि थापा ज्ञानेन्द्रसँग चिढिएका हुन् । जसका लागि भनेर राजनीति गर्‍यो, उसैले आफ्नो पार्टी फुटाएपछि थापाले पूर्वराजासँग चित्त दुःखाउनु स्वाभाविकै हो ।

थापाले गत चुनावमा पूर्वराजा ज्ञानेन्द्रकै कुरा सुनेर एमालेसँग तालमेल नगरी कांग्रेससँग मोर्चाबन्दी गरेका थिए । एमालेसँग तालमेल गरेर चुनावमा गएको गएको भए कमल थापाहित कम्तिमा ३ सीट प्रतिनिधिसभामा पुग्ने चर्चा अहिले राप्रपाभित्र चलेको छ ।  राप्रपाका एक नेताले अनलाइनखबरसँग भने- हाम्रो अध्यक्षले दुईवटा कमजोरी गरेकै हो । एक- प्रचण्डको सरकारमा सहभागी हुनु र दोस्रो केपी ओलीले भन्दाभन्दै चुनावी तालमेल नगर्नु । अहिले फेरि  पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्रवादी धारको निर्माणका लागि नेपालगञ्जका मेयर धवलसमेशर राणाले राजीनामा दिनुपर्ने भन्दै कमल थापालाई सिमराको भेटमा अनाैठाे दबाव दिएको स्रोतले अनलाइनखबरलाई बतायो । कमल थापाको ‘थर्ड लाइन’ ! नयाँ संविधानलाई केही रिजर्भेसनसहित स्वीकार गरेका कमल थापा राप्रपा प्रजातान्त्रिकभित्रका लोभीपापीहरुलाई समेटेर भन्दा पनि आफ्नै वलबुँतामा शक्ति पुनःआर्जन गर्ने लाइनमा देखिएको सूत्रहरुको दाबी छ ।

 

राप्रपा समूहवीचको एकताको विरोध नगर्ने तर चुनावअघिको पार्टी विभाजनलाई बिर्सन नसकिने कमल थापा समूहका नेताहरु बताउँछन् । कमल थापानिकट एक नेताले अनलाइनखबरसँग भने- ‘हिजो पार्टी फुटाएर अन्तरघात गर्नेहरुले आज फेरि कुन आधारमा एकता गर्ने ? तिनीहरुलाई हामीले किन नेता मान्ने ? अब पार्टी एकता गर्ने नै हो भने अब कमल थापाकै नेतृत्वमा एकता हुनुपर्छ र पार्टी फुटाउने अन्तरघातीहरुलाई शीर्ष स्थान दिन सकिँदैन ।’ यसैवीच हेटौंडामा तीन दिनअघि आयोजना गरिएको युवा कार्यकर्ताहरुको प्रशिक्षणमा कमल थापाले नेपाली कांग्रेस राप्रपाको लाइनमा आउनैपर्ने अभिव्यक्ति दिए । सुनील थापाहरुले कांग्रेससँग एकता हुनुपर्ने लविङ गरिरहेका बेला कमल थापाको यो भनाइलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ के कमल थापाले पनि नेपाली कांग्रेस पनि राप्रपाको लाइनमा आउनुपर्छ भन्नुको अर्थ संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको लाइनमा नेपाली कांग्रेस आउनुपर्छ भन्न खोजिएको हो, कांग्रेस र राप्रपावीच पार्टी एकता हुनुपर्छ भन्न खोजिएको होइन ।’ अहिले बलियो वाम सरकार बनेको र सोको विपक्षमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकिरहेको अवस्थामा कमल थापामा दक्षिणपन्थी धारको वैकल्पिक नेता बन्ने महत्वाकांक्षा पलाएको सूत्रहरुको दाबी छ । यही महत्वाकांक्षा अनुसार थापा ज्ञानेन्द्रका पनि कुरा नसुन्ने र आफ्नै बुँतामा ‘थर्ड पोल’ बनाउने रणनीतिमा लागेको राप्रपाका एक नेताले सुनाए । यद्यपि राप्रपाभित्र अधिकांश कार्यकर्ताहरुमा चरम निराशा देखिएको छ ।

 

त्यो निराशालाई चिर्नकै लागि भए पनि पार्टी एकताको हल्ला चलाइएको स्रोत बताउँछ । तर, राप्रपाका तीन समूहको एकता तत्काल सम्भव नरहेकोमा तीनवटै समूहका नेताहरु कन्भिन्स छन् । पार्टी एकता गाह्रो राप्रपा नेताहरुका अनुसार वार्ता कमिटीहरु बने पनि तीन समूहवीच पार्टी गाह्रो छ । किनभने, पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनी तीनै नेताहरु नेतृत्व छाड्न तयार छैनन् । उनीहरुका वीचमा लोकेन्द्रबहादुर चन्द विकल्प हुन सक्छन् । तर, चन्दबाट पार्टी चल्न सक्दैन । चन्दबाट चलाउनु भनेको दीपक बोहोराबाट पार्टी चलाउनुजस्तै हो । विगतमा चन्दले १६ वर्ष राप्रपाको नेतृत्व गरिसकेका छन् ।

 

यो अवस्थामा तीनवटै समूहबाट अहिलेका शीर्ष नेताहरु साइड लागेर नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने हुन्छ, जुन अहिलेसम्म सम्भावना देखिएको छैन । सूत्रहरुका अनुसार कमल थापालाई राजीनामा दिएर बुद्धिमान तामाङलाई राप्रपाको नेतृत्व सुम्पन र एकताको वातावरण बनाउन केही नेताहरुले विकल्प सुझाएको स्रोतको कथन छ । तर, राजीव पराजुली, राजेन्द्र लिङदेन र सुशील श्रेष्ठको दबावमा कारण कमल थापाले त्यसो गर्ने सम्भावना छैन । यद्यपि थापाले एकताको वातावरण बन्छ भने आफू त्याग गर्न तयार रहेको पार्टीभित्र बताउँदै आएका छन् ।अनलाइन खबर बाट