‘प्रचण्डले माओवादी आन्दोलनको जरो/किलो उखालेर एमालेलाई बुझाइदिए: भट्टराई

नयाँ शक्ति पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले प्रश्न गरे, ‘जनयुद्ध र शहीदका सपनालाई बाबुरामले धोका दियो भनेर प्रचार गर्ने अनि अहिले आफैं धोका दिने?’ प्रचण्डले माओवादीलाई धोका दिएको भट्टराईले बताए। बाबुरामले धोका दियो कि प्रचण्डले धोका दियो घटनाक्रमले पुष्टि गर्यो। जनताले मूल्याङ्कन गर्नेछन्’ भट्टराईले भने, ‘सत्ताका लागि प्रचण्डले कम्युनिष्टको खोल ओढेर एमालेमा पार्टी मिसाए।’ जनयुद्ध सुरू गर्दा २०५२ सालमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रहेको स्मरण गर्दै भट्टराईले त्यसबेला माओवादीलाई आक्रमण गर्न खोज्ने ओलीलाई नै अहिले प्रचण्डले पार्टी बुझाएकोमा आलोचना गरे।

०५२ मा ओलीको निर्देशनमा आफूहरूलाई भद्रकालीमा आक्रमणको योजना बनेको भट्टराईको दाबी छ। प्रचण्ड सत्ताको चतुर खेलाडी रहेको उल्लेख गर्दै भट्टराईले पाइप पाइपर्सको कथा पनि सुनाए। ‘प्रचण्डले पाइड पाइपर्सको भूमिका खेलेर मधुर धुन बजाउँदै पार्टीका साथीहरूलाई थाहै नदिइ एमाले रूपी समुन्द्रमा पार्टी मिसाइदिए। जसरी पाइड पाइपर्सले सहरका मुसालाई समुन्द्रमा खसालेका थिए’ उनले भने, ‘नयाँ शक्ति छाडेर अरु पार्टीमा गएकालाई घर फर्कन भट्टराईले आग्रह गरे।

 

‘साथी हो घर फर्कनुहोस्, सधैं ढोका खुला रहनेछ’ उनले भने, ‘वैकल्पिक राजनीतिक शक्ति बन्ने र तेस्रो ध्रुवको नेतृत्व गर्ने पार्टी नयाँ शक्ति नै हो।’ भट्टराईले एमाले र माओवादी मिलेर बनेको पुर्नगठित नेकपालाई सुन्निएर मोटाएको पार्टीको संज्ञा दिए। ‘मदन भण्डारीको अवसानपछि एमाले पार्टी चरम अवसरवाद र भ्रष्टाचारमा लिप्त भएको थियो। विपीको अवसानपछि कांग्रेस विचारविहीन भयो’ उनले भने। भट्टराईले मधेशवादी दलहरूप्रति संकेत गर्दै पाँच वर्ष सत्ताबाहिर बस्न नसकेको आरोप लगाए। ‘हिजो ओलीलाई मधेश निषेध भन्ने अहिले ढोका/ झ्याल कहाँबाट सरकारमा जान सकिन्छ भनेर मधेशवादी दलहरू चलखेल गरिरहेका छन्’ भट्टराईले भने।

 

नयाँ शक्ति निर्माणको लागि दुई वर्षअघि बिउ रोपेको बताउँदै भट्टराईले धान, मकै केही समयमै फल्ने तर आँप फल्न समय लाग्ने बताए। ‘नयाँ शक्ति हुर्कन समय लाग्छ। आँप फल्न समय लागेजस्तै। हामी ठीक ठाउँमा छौं। चुनावमा अपेक्षित मत हासिल नभएकै हो’ उनले भने। नयाँ शक्ति छाड्नेहरूलाई भट्टराईले भूसको संज्ञा दिए। भूस रोप्यो भने उम्रदैन। रातारात ठगेर अर्बपति बन्ने चाहना हाम्रो थिएन। मानव जातिको भलाइलाई राजनीति गर्नुपर्छ’ भट्टराईले भने, ‘हामीसँग केही साथी झुक्किएर आउनुभएछ।

उहाँहरूलाई लागेको रहेछ बाबुरामको पछि लागेपछि तुरुन्तै सत्तामा जान पाइन्छ तर त्यस्तो नहुने भएपछि उहाँहरू भाग्नुभयो। बदनाम भइसकेका पुराना पार्टीका नेताबाट देशमा सुशासन सम्भव नहुने उनले बताए। ‘सत्ताको निम्ति विदेशीको गुलामी गर्नेहरूबाट सुशासन र सम्वृद्धि सम्भव छैन’ भट्टराईले भने। सम्वृद्ध नेपालको सगरमाथा नचढेसम्म विश्राम नलिने उनले बताए। नयाँ शक्तिमा बाबुराम एक्लै छ भन्ने षड्यन्त्रकारीका योजना युवाको साथले तुहिएको उनले बताए।