माओवादी केन्द्रको अध्यक्षमा किराँती  ७०१ सदस्यीय केन्द्रीय समिति बन्याे

३० जेठ,काठमाडौँ ।पुर्नगठित नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाएको छ । मंगलबार काठमाडौँको प्रज्ञा भवनमा बसेको केन्द्रीय आयोजक समितिको भेलाले अध्यक्षमा गोपाल किराँती र महासचिवमा कर्णजीत बुढा ‘शुसील’ चयन गरेको छ ।
उपाध्यक्षमा भविश्वर पराजुली, तिलक थापा मगर र सचिवमा राजन तिमिल्सिनालाई चयन गरेको छ ।
महासचिव शुसिलका अनुसार १७५ सदस्यीय पोलिट्ब्यूरो र ४३ सदस्यीय केन्द्रीय सचिवालय पनि चयन गरिएको छ । पदाधिकारीको कार्यविभाजन पनि गरेको छ । जसमा प्रदेश नम्बर १ को तिलक थापा, २ को राजन तिमिल्सिना, ४ र ५ को भविश्वर पराजुली, ६ र ७ को सुशील इन्चार्ज तोकिएको छ । त्यस्तै ३ नम्बर प्रदेशको केन्द्रीय कार्यालयले लिएको छ ।

मालेमावादको रक्षा, क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वृहत अभियान पार्टीको तत्कालिक कार्यक्रम बनाइएको महासचिव सुशीलले  बताए । भेलाले भूकम्प पीडितलाई एकमुष्ट पाँच लाख दिन सरकारसँग माग पनि गरेको छ । पार्टीको महाधिवेशनले आगामी कार्ययोजना ल्याउने बताइएको छ।

सहिद परिवार र पूर्व जनमुक्ति सेनालाई ‘गणतान्त्रि भत्ता’ स्वरुप प्रतिमहिना १० हजारका हिसावले जीवन निर्वाह भत्ता उपलब्ध गराउने, पार्टीको मुख्य नेतृत्व सत्तामा नजाने निर्णय समेत भेलाले गरेको शुसिलले जानकारी दिए ।
बुधबार काठमाडौँका आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले जनयुद्धको धावनमार्ग प्रचण्डले भत्काएको बताउँदै पुनःनिर्माण गर्ने बताए । उनले रुपान्तरणसहितको माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको दाबी गरे ।
आगामी कार्तिकमा राष्ट्रिय भेला बोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने अध्यक्ष किराँतले जानकारी पनि दिए ।