प्रचण्डले क्रान्तिको कुरा गर्दा गर्दै पार्टीलाई र अाफुलाइ एमालेमा विलय गराए : गजुरेल

प्रकाशित मिति : २०७५ जेष्ठ ३१चितवन। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको कुरा गर्दा गर्दै पार्टीलाई एमालेृमा विलय गराएको आरोप लगाउनु भएको छ ।

 

पार्टीको चितवन जिल्लाको नवौं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष गजुरेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटले ओली नेतृत्वको सरकारबाट मुलुकको समृद्धि र स्थायित्व सम्भव छैन भन्ने कुरा प्रष्ट पारेको दावी गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “बजेटमा विकास खर्चतर्फ जम्मा २३ प्रतिशत छुट्याएर विकास र समृद्धिको हावादारी कुरा गर्ने ?” उहाँले ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमणका क्रममा ओलीले देखाएका लम्पसारवादी चरित्र र क्रियाकलापले उनको नक्कली र ढोंगी राष्ट्रवादको मुकुण्डो राम्रैसँग उतारिएको बताउनु भयो ।

 

पार्टी स्थायी समिति सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज राजवीरले नेकपा ( ने क पा) वास्तविक अर्थमा कम्युनिष्ट पार्टी नभएको दावी गर्दै उसले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनु भयो । उहाँले नयाँ जनवादी क्रान्तिका लागि अनुशासित र मिलिट्यान्ट पार्टी निर्माणको आवश्यता रहेको पनि बताउनु भयो ।
पार्टी केस तथा जिल्ला इन्चार्ज अन्जनाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा अनेकिसंघ (क्रान्तिकारी)का अध्यक्ष भूमिश्वर कँडेलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । अधिवेशनमा जिल्ला कार्यालय सदस्य हेमन्तले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष गजुरेलले जनकवि इश्वरी ओझालाई अभिनन्दन गर्नुभएको थियो भने कार्यक्रममा पुराना कम्युनिष्ट नेता जगत श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

 


अधिवेशनको वन्द सत्रले ३९ जनाको जिल्ला समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको पहिलो बैठकले जिल्ला सेक्रेटरीमा हेमन्तलाई चयन गरेको छ । निर्वाचित समितिलाई सपथ खुवाउँदै पार्टी स्थायी समिति सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज राजवीरले बधाई दिनुभयो ।