बझाङका दुर्गम ठाउँको दुःख : सिटामोलको लागि ५ घण्टा पैदल यात्रा

 

प्रकाशित मिति : २ असार २०७५, शनिबार

बझाङ, असार २ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सर्भ सुलभ स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । तर, बझाङको हिमाली क्षेत्रमा पर्ने दुर्गाथली गाउँपालिको चुवावन र छविस पाथिभेरा गाउँपालिकाको बुडखोरीका बासिन्दाहरु सामान्य उपचारको लागि ५ घण्टासम्म पैदल हिँड्नु पर्ने बाध्यतामा रहेका छन् ।

गाउँमा स्वास्थ्य सेवाका कुनै इकाइ नभएका कारण उनिहरु सिटामोलकै लागि घण्टौ पैदल हिँड्न बाध्य हुनु परेको हो । गाउँमा प्रसुति केन्द्र तथा खोप केन्द्र नहुदा बढी समस्या हुने गरेको बुडखोरीका जनक बोहराले बताएका छन् ।

छविस पाथिभेरा गाउँपालिकाको बुडखोरी

‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर विसौना दौडाउनु पर्ने बाध्यता छ । भनेको समयमा विरामी तथा गर्भवती महिलालाई बोक्ने मान्छे पनि हुँदैनन’ बोहराले भने ‘कतिपय महिलाहरुले त विच बाटैमा बच्चा जन्माउछन् । कतिपयको स्वास्थ्य संस्था पुग्न नपाउदै विच बाटैमा ज्यान गुमाउछनु पर्ने बाध्यता छ ।

उनले नबजात शिशुलाई खोप केन्द्र सम्म ल्याउदा लैजादा सुत्केरी महिलाले लामो यात्रा गर्नु पर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको समेत बताएका छन् । खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरुलाई खोप नै नलगाउने गरेको चुवावनकी शान्ति महतको भनाइ छ ।
आउँदा जाँदा दिन भरी लाग्छ ।’ महतले भनिन्, ‘खोपको महत्व बुझेकाहरु त हिँडेरै गएर पनि लगाउँछन् । धेरै जसो अशिक्षित र नबुझेकाहरु आज सम्म लगाइएन अव लाएर के नै पो हुन्छ ? भनेर खोपै लाउदैनन ।’

उनले गाउँमै खोप केन्द्र भैदिएको भए कोही पनि बालबालिका खोप लिनबाट बञ्चित हुन पर्ने बताइन् । स्वास्थ्य संस्था टाढा भएका कारण विरामी हुने वितिकै उपचार नपाउने र विरामी थलिए पछि मात्र बोकेर उपचारको लागि लैजाने गरेको बुडखोरीका गिरी बोहराले बताएका छन् । यसो गर्दा कतिपय विरामीहरु सिकिस्त भै सके पछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानै समेत गुमाउने गरेको उनको भनाइ छ । यी दुईवटा गाउँमा गरेर ३ सय ७५ परिवारको घरधुरी छन् । भने यहाँको २ हजार २ सयको हाराहारीमा यहाँको जनसंख्या रहेको बताइएको छ ।

स्थानीय समुदाय वा गाउँपालिकाले स्वास्थ्य इकाई निर्माण गर्नको लागि निशुल्क जग्गा उपलब्ध गराउन सक्ने निर्णय सहितको निवेदन दिएका त्यस्तो ठाउँमा सामुदायिक स्वास्थ्य इकाईको लागि स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डाक्टर अनुप रेग्मीको भनाइ छ ।
सामुदायिक स्वास्थ्य सेवा इकाइको स्थापना भए पछि स्वास्थ्य चौकीबाट प्रदान हुँदै आएका खोप, प्रसुति जाँच र अन्य उपचारका सेवाहरु त्यहीँबाट प्रदान गरिने उनले बताएका छन् ।