यार्सा संकलन गरी घर फर्किंदा महाकालीमा बगेर एक जना बालिका बेपत्ता

 

प्रकाशित मिति : ३ असार २०७५, आईतवार

दार्चुला, असार ३ । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ नज्याङ क्षेत्रमा महाकाली नदी तर्ने क्रममा एक बालिका बेपत्ता भएकी छन्। यार्सा संकलन गरि घर फर्कने क्रममा दुहुँ गाउँपालिका–२ का १६ वर्षीया कञ्चन लोथ्याल महाकाली नदीमा बेपत्ता भएकी हुन् ।

अभिभावकसँगै महाकाली नदी तर्ने क्रममा ढुंगाबाट चिप्लिएर लोथ्याल वेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताएका छन् । यार्सा संकलन गरेर आउने क्रममा महाकाली नदीमा हाम फालेर खोला तर्दै गरेका थिए ।

उनका आफन्त सुरेन्द्र लोथ्यालले नदी पार गरे । तर, उनले खोलामा तर्न सकेनन् । बुवा महिमन लोथ्याल त्यहाँ नपुग्दै छोरी बेपत्ता भएको परिवारले जनाएको छ ।
दुई महिना अघि सो क्षेत्रमा काठे पूल लगाइएको भएपनि अहिले नदीले पूल बगाएको छ । यार्सा संकलन गरेर घर फर्किदा भारतीय बाटो प्रयोग गर्ने उद्देश्यले पारी भारत जाने बेला उनी वेपत्ता भएको डिएसपी अधिकारीले बताएका छन् ।
बेपत्ता बालिकाको खोजी कार्य भइरहेको छ । यसअघि गत बैशाख २४ गते सोहि क्षेत्रमा व्यास २ का ३५ वर्षीया सकुन्तला भण्डारी महाकाली तर्ने बेला चिप्लीएर बेपत्ता भएका थिए ।
पछिल्लो समय स्थानीय काठे पूलको सहारा खोज्दै महाकाली तर्ने बेला दुई जनाले ज्यान गुमाएका छन् । विगतमा तुइन तर्ने बेला स्थानीयले अकालमै ज्यान गुमाउँदै आएका थिए ।