यसरी नेपाली भूमि कब्जा गरे भारतीयले

प्रकाशित मिति : २०७५ असार ३

बिर्तामोड। झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिघाभन्दा बढी जमिन भारतीयले कब्जा गरेका छन् । स्थानीय रुपनी नदी धार परिवर्तन गरी उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपाली भूभाग भारतीयले कब्जा गर्ने गरेको स्थानीय मोहनप्रसाद राजवंशीले बताएका छन् ।

रुपनी नदी पूर्व–पश्चिम भएर बगेको छ, धार परिवर्तन गरेर सरेको प्रस्ट सबैलाई थाहा हुन्छ । नदी नै सीमा हो भन्दै नेपालको १० बिघाभन्दा बढी जमिन वर्षौंदेखि भारतीयले भोगचलन गरिरहेको राजवंशीले जानकारी दिए ।
हरेक वर्ष नदी कटान गरी उत्तरतिर सर्ने गरेको र दक्षिणतिरको जमिन भारतीयले नै भोगचलन गर्दै आएको स्थानीयले बताएका छन् । नदीको धारभन्दा लगभग ४ सय मिटर दक्षिणमा मात्र सीमास्तम्भ छ । तर, भारतीय नागरिकले जबर्जस्ती जमिन भोगचलन गरिरहेको उनको भनाइ छ ।

 

नदीले धार परिवर्तन गरी नेपालतर्फ सर्दा आफ्नो सात बिघा जमिन पारि पुगेको सुनाउँदै उनले जमिन भारतीयले जोतभोग गर्दै आएको दाबी गरे र भने, ‘मेरा बुवाले धेरै पटक प्रहरीसँग गुहार माग्नुभयो तर सुनुवाइ भएन ।’
नेपाल र भारतको संयुक्त सीमा टोलीले करिब एक वर्षअघि नदी कटान तथा सीमा अवलोकन गरेको थियो । त्यस बेला सर्भेमा आएका भारतीय कर्मचारीले सीमाभन्दा उत्तरको जमिन नेपालको भएको र आफ्नो जमिन भोगचलन गर्न पाइने बताए पनि भारतीयले नछाडेको स्थानीयको गुनासो छ ।

नदी पारिको केही जमिन स्थानीयले भारतीयलाई बाली लगाउन दिएको र पछि फिर्ता नगरेको पनि धेरै रहेको स्थानीय दुर्गा थापाले बताए। ‘सुरुमा बगर थियो, नेपालीले भारतीयलाई कमाउन दिए’, उनले भने, ‘वर्षांै कमाएपछि उनीहरूले नै नियन्त्रणमा लिए, माग्दा आक्रमण गर्लान् भन्ने त्रास छ ।’

कचनकवल–४ स्थित पोक्लावाङमा रुपनी नदी धार परिवर्तन गरी उत्तरतर्फ सरेको छ । दक्षिणतर्फको जमिन भारतीयले भोगचलन गर्दै आएका छन् ।
भारतीयले कब्जा गरेको जमिननजिक नेपालको सुरक्षा पोस्ट छैन । ६ किलोमिटर पश्चिममा पर्ने केचना बजारमा सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ । उत्तरमा भद्रपुरको पृथ्वीनगरमा मात्र नेपाली सीमा सुरक्षा पोस्ट छ । भारतीय पक्षले कब्जामा लिएको जमिन नेपालको सबैभन्दा होचो स्थान कचनकवल स्तम्भबाट लगभग डेढ किलोमिटर उत्तर–पूर्वमा पर्छ ।