११ सय ग्राम यार्सागुम्बासहित दार्चुलामा एक ब्यापारी पक्राउ

प्रकाशित मिति : ४ असार २०७५, सोमबार

दार्चुला, असार ४ । दार्चुलामा एक जना ब्यापारीको साथबाट ११ सय ग्राम बढी यार्सागुम्बा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दुुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा व्यापारीको साथबाट १ किलो १ सय २० ग्राम यार्सागुम्बा बरामद गरेको हो ।

यार्सागुम्बासहित पक्राउ पर्नेमा दुहुँ गाउँपालिका ५ का गगनसिंह महरा रहेका छन् । स्थानीयबाट खरिद गरेर सदरमुकाम खलंगा ल्याउँदै गर्दा प्रहरीले यार्सागुम्बासहित व्यापारीलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पक्राउ परेको यार्सागुम्बा र व्यापारीलाई आबश्यक कार्वाहीका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको प्रहरी निरीक्षक एबं जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मतबहादुर बोहराले बताएका छन् ।
व्यापारी महरले प्रहरीसामु उक्त यार्सागुम्बा घरेलु भएको बताएका छन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले भने आवश्यक अनुसन्धान गरेर कार्वाही प्रकृया अघि बढाइने जनाएको छ ।