३९ घण्टा सुरुङ भित्र , एक अर्कालाइ हेरेर बाँच्ने आस बढ्यो

काठमाडौ / सुरुङमा पहिरो खसेपछी केही सञ्चार माध्यमले उनीहरुको मृत्युको खबर पनि लेख्न भ्याए । श्रद्धाञ्जली र समवेदनाका अक्षरहरुले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु भरिएका थिए । तर आयोजनाका केही कर्मचारीहरु, घटना स्थल पुगेकाहरु र पहिरोका प्रत्यक्ष दर्शीहरुले भने उनीहरुको आशा मारेका थिएनन् । सोँचे जस्तै साबित पनि भयो । भाग्यले बाँचेकाहरु भने जस्तै अरुण तेस्रो सुरुङ मार्गमा पहिरो खसेपछी थुनिएकाहरु आइतबार बिहान ११ बजे सकुशल उद्धार गरिएको छ । शुक्रबार राती ८ः४० बजे सुरुङमा पहिरो खसेपछी नेपाली नागरिक दुई जना र भारतिय मुलका दुई जना सुरुङ भित्रै छोपिए । पहिरोले छोपिए पछी उनीहरुले ३९ घण्टा सुरुङ भित्रै बिताए ।

 

भारतको झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा पानीको भरमा ३९ घण्टा बसेर बाहिर निस्कदा पुर्नजन्म पाएको महसुस गरे । मुण्डा सुरुङमार्ग पहिरोले पुरिएर फसेका बुमर (सुरुङ मार्ग खन्न प्रयोग गरिने मेसिन)का अपरेटर हुन् । हामी चार जना एक आपसमा यति दृढ थियौ की हामीलाई बचाँउने छन् भनेर एकसाथ बसि एकले अर्काकोे आत्माबल बढायौं । यदी म¥यौं भने पनि एक साथ मर्ने प्रणका साथ हामी बस्यौं । हामी संग खानेकुरा केही थिएन, पानीका भरमा बाँच्यौं । बाहिरको आवज आए पछि अब भने बाँच्ने आशा पलायो । सुरुङमार्गको बाहिरी भागबाट थोरै पुवाल परेपछि बाहिरको हावा भित्र पस्न सुरु गरेपछि श्वास फेर्न समेत सहज भयो मुण्डाले भने । अनि थोरै उज्यालोले फेरी जीवनको आश गर्यौ ।

सुरुङ भित्र मुण्डा सहित सिउना गाउँपालिका ४ कालिकोटका ३२ वर्षिय प्रदिप शाही, चन्द्रनाथ नगरपालीका १ जुम्लाका ४४ वर्षिय प्रेम परियार, भारत बिहारका पम्प सहयोगी ४५ वर्षिय नन्द किशोर फसेका थिए ।उनीहरुको उद्धार शनिबार विहानै बाट गरिए पनि दिनभर बेलाबेला पहिरो खस्नुका साथै वर्षाले उद्धारमा ढिलाई भएको थियो । उद्धार प्रभावकारी नभए पछि आइतबार रौताह कम्पनीको स्काईभेक्टर थप गरेपछि मात्र उनिहरुको उद्धार कार्य सफल भएको थियो । स्काईभेटरले पहिरो हटाए पछी सुरुङ मार्ग भेटिएपछी उद्धारमा खटिएका सुरक्षा कर्मीहरुले डोरीको सहायतामा उनीहरुलाई बाहिर निकालिएको हो ।

 

प्रेम परियार र प्रदिप साहीलाई आइतबार नै सदरमुकाम खाँदबारी ल्याइएको छ । परियारको ढाडमा समस्या देखिएकाले थप स्वास्थ्य परिक्षणको लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम कुमार सारु मगरले जानकारी दिए । स्वास्थ्य अवस्था सामान्य रहेका दुई भारतियलाई आरामका लागि उनीहरुकै क्याम्पमा राखिएको मगरले बताए ।

 

पहिरोेका कारणा परियोजनाको एक वटा पुलमा पुर्णरुपमा क्षति पुगेको छ । पहिरो बाट कति क्षति भयो भन्ने विवरण आउँन बाँकी रहको छ । मकालु गाउँपालिका ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्ग सहित पुर्वाधारको काम सुरु गरीएको छ । निर्माण सुरु गरिएको सुरुङ मार्ग ३० मिटर लामो रहेको आयोजनाले जनाएको छ । नौं सय मेगावटको अरुण तस्रो जलविद्युत आयोजना सन् २०२२ सम्ममा निर्माण समपन्न गर्नुपर्ने छ ।