सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन्

मिति : ५ असार २०७५, मंगलवार

बझाङ, असार ५ । बझाङमा १३ वर्षीया सुस्त मनस्थितीकी किशोरी बलात्कृत भएकी छन् । सुस्त मनस्थिती भएकी किशोरीलाई स्थानीय ४० वर्षका फिट्टु कुँवरले बलात्कार गरेको किशोरीका आफन्तले आरोप लगाएका छन् ।

 

असार ३ गते दिउँसो नै किशोरीलाई बलात्कार गरेको भएपनि घटनास्थल टाढा भएका कारण पीडितहरु प्रहरीको सम्पर्कमा आएपछि मात्र घटना सार्वजनिक भएको हो । दिउँसो ४ बजे तिर मदिरा सेवन गरेर मातेका आरोपी कुँवरले किशोरीलाई उनकै गोठमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।

 

गाउँका सबै मान्छे खेतमा काम गर्न गएको बेला घटना भएको र घटना भइसकेपछि किशोरी चिच्याउँदै बाहिर निस्केकाले अरुले थाहा पाएका थिए । आरोपी कुँवर अहिले फरार रहेका छन् । सुस्तमनस्थिती भएकी पिडित किशोरी स्पष्ट रुपमा बोल्न पनि सक्दिनन् ।

 

उनको जिल्ला अस्पताल बझाङमा स्वास्थ्य परिक्षण गरिएको र मंगलबार मुद्धा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी क्रृषिराम कँडेलले जानकारी दिएका छन् । आरोपीको खोजी कार्यको लागि आइतबारदेखि नै प्रहरी परिचालन गरिएको र थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

 

पटक–पटक बलात्कार सुस्त मनस्थिति भएकी ती बालिकाको यसअघि पनि थुपै्र पटक बलात्कार भएको स्वास्थ्य परीक्षणबाट देखिएको उनको स्वास्थ्य परीक्षणमा संलग्न एकजना स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

 

बालिकाको योनीमा विभिन्न खालका संक्रमणहरु देखिएको र योनिको आकार अस्वभाविक रुपमा बढेकोले यस अघि पनि पटक–पटक बलात्कार भएको हुन सक्ने ती स्वास्थ्यकर्मीको बताएका छन् ।