सवारी दुर्घटनामा पर्ने १६ देखि ३५ वर्षका धेरै

 

काठमाडौँ ६ असार ।काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये युवा नै बढी छन् । चालु आर्थिक वर्षको १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्षसम्मका ८० जना छन् ।

यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले ज्यान गुमाएका छन् । चालु आवमा उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त युवाहरु तीव्र गतिका कारण सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना भएको बताउनुहुन्छ । “दुर्घटनामा ज्यान गुमाएका अधिकांश यात्रु मोटरसाइकल चलाउने नै रहेका छन्”, उहाँ भन्नुहुन्छ ।

गत आवमा पनि सोही उमेर समूहका व्यक्तिको धेरै सवारी साधनमा मृत्यु हुने गरेको तथ्यांक छ । आव २०७२÷०७३ मा १६६ मध्ये ९२ र आव २०७३÷०७४ मा १८२ मध्ये ८६ जना सोही उमेर समूहकाहरुले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । महाशाखाका प्रमुख पन्त उपत्यकामा हुने सवारी दुर्घटना अपराह्नभन्दा राति धेरै हुने गरेको बताउनुहुन्छ ।

सवारी साधन धेरै र सडक साँघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ । हाल उपत्यकामा वार्षिक ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् । देशभर करीब २७ लाख सवारी साधन छन् ।

काठमाडौँ उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी एकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको महाशाखा प्रमुख पन्त बताउनुहुन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताउनुहुन्छ । “उपत्यकामा आफ्नो सवारी साधनका साथै अर्काको सवारी साधनबाट पनि उत्तिकै दुर्घटना हुने गरेको छ”, उहाँ भन्नुहुन्छ ।

उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको धेरै मृत्यु हुने गरेको छ । महाशाखाका अनुसार आव २०७२÷०७३ मा १३० पुरुष र ३६ महिला, आव २०७३÷०७४ मा १२१ पुरुष र ६१ महिला र चालु आवमा ११७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

महाशाखाले चालु आवमा सवारी साधन उल्लंघन गर्ने तीन लाख ७८ हजार ९२७ सवारी साधनलाई कारवाहीसमेत गरेको छ जसमा लेन अनुशासन ३८ हजार ८१४, मापसे २६ हजार १९७, ट्याक्सी कारवाही छ हजार ६८०, जेब्रा क्रसिङ कारवाही सात हजार ३९७, हर्न कारवाही १३ हजार १९, सिसिटिभी एक हजार ९६३, बुलेट मोटरसाइकल छ हजार ८०२ र अन्य कारवाही छन् । उपत्यकामा सवारी साधन धेरै हुँदा समस्यासमेत हुने गरेको छ ।

महाशाखाका अनुसार हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजार ४४ सवारी साधन व्यवस्थापन गर्दै आएको छ । रु बाह्र लाखको कपडा बरामद महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याइएको रु १२ लाख मूल्य बराबरको सामान बरामद गरेको छ ।

परिसर, महानगरीय प्रहरी वृत्त जनसेवाले सोमबार राति काठमाडौँ महानगरपालिका–२४ मा वा ३च ६८४१ नंको टाटा गाडीमा सामान लुकाएर ल्याउँदै गर्दा बस चालक मध्यपुरथिमि–१० घर भई सीतापाइला बस्ने ४४ वर्षीय वीरेन्द्र रञ्जीतकारलाई पक्राउ गरेको हो ।

गाडी चालकसँग सामानको बिल नभएको र साहुको सामान भएको खुलेपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिई बरामद गरिएको सामान, गाडी र चालकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाएको छ ।