बाजुराका कृषक खुशी पहिलो पटक हाते ट्याक्टरबाट राेपाइँ गर्दा 

प्रकाशित मिति : ६ असार २०७५, बुधबार

बाजुरा, असार ६ । बाजुरामा पहिलो पटक हाते ट्याक्टरको प्रयोगबाट रोपाइँ गरिएको छ । चार वर्ष अघिसम्म बडिमालिका नगरपालिकाका टेकबहादुर बडुवाल महिनौ लगाएर खेतबारी जोत्थे ।

 

हलो र जुवा काँधमा राखेर गोरु धपाउँदैमा दिन बित्थ्यो, अहिले खेतबारी खन्न ट्याक्टरको प्रयोग गर्न थालेपछि बडुवाललाई सजिलो भएको छ । अहिले उनी न त हलो जुवा लिएर हिँड्नु छन्, नत गोरु धपाएर हिँड्नु परेका छ ।

 

महिनौ लगाएर खन्ने खेतबारी ट्याक्टरले दुई दिनमै खन्ने गरेपछि सजिलो भएको उनी बताउँछन् । उनका अनुसार एक हल गोरुले दिनभरमा गर्ने काम ट्याक्टरले आधा घण्टा मै सकिन्छ । धान रोप्ने, मकै, गहुँ छर्ने र तरकारीबाली लगाउनमा सजिलो भएकोे उनको भनाइ छ
ट्याक्टरको सहायताले खेतबारी खन्न सजिलो भएपछि बडुवाल मात्र होइन, बडिमालिका नगरपालिका–९ बडुवालबाडाका किसानहरु खुशी भएका छन् । कम जनशक्तिले थोरै समयमा काम सकिने भएपछि बाँझो रहेका खेतमा पनि उत्पादन सुरु भएको छ ।

बडिमालिका नगरपालिका–९ बडुवालबाडाका किसानहरुलाई लक्षित गरी जिल्ला कृषि विकास कार्यालय बाजुराको आर्थिक सहयोग र टेकबहादुर बडुवालको आफ्नै लगानीमा ट्याक्टर बाजुरामा भित्रिएको हो ।