शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य

 

काठमाडौं, असार ७ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाउने भएको छ । हाल दुवै प्रहरी संगठनबाट न्यून मात्रामा महिला प्रहरी पठाइने गरेकोमा दुई वर्षपछि अर्थात् सन् २०२० सम्म २० प्रतिशत अनिवार्य रूपमा पठाउनुपर्नेछ ।

राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको दोस्रो सम्मेलन–२०१८ मा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसंघका उच्च अधिकारीसँगको भेटमा सन् २०२० सम्म २० प्रतिशत महिला प्रहरी पठाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

 

शान्ति मिसनमा महिला प्रहरीको संख्या बढाउने राष्ट्रसंघको नीति नै हो ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसन हेर्ने उपमहासचिव जिन पेरे लाक्रोइस, प्रहरी विभागका प्रमुख सल्लाहकार लुइस हारिहो, कानुनी शासन हेर्ने उपमहासचिव अजेक्जेन्डर जोयुभ, प्रहरी उपप्रमुख साओवेन याङ र छनोट महाशाखाका प्रमुख यता यनिगुनलगायतका अधिकारीसँग भेटमा महानिरीक्षकद्वयले सो प्रतिबद्धता जनाएका हुन् । भेटमा उनीहरूले राष्ट्रसंघमा महिला प्रहरी संख्या बढाउन पहलसमेत थालिएको जानकारीसमेत दिएका थिए । (राजधानी दैनिकबाट)