“कांग्रेस भेला, बन्द सत्रमा जिल्ला सभापतिहरू नै विभाजित, पराजयको कारण खोतल्दै जिल्ला सभापति

 

 

हेटौडा, असार ७ । मकवानपुरको हेटौंडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापति भेलामा सभापतिहरू नै गुटगत आधारमा विभाजित भएका छन् । भेलामामार्फत पार्टीको आन्तरिक एकताको सन्देश दिने तयारी पार्टी नेतृत्वले गरेको भए पनि भेलामा जिल्ला सभापतिहरू नै गुटअनुसार विभाजित भएका हुन् ।

मंगलबार उद्घाटन भएको कार्यक्रमको बुधबार बन्द सत्र सुरु भएकोमा धारणा राख्ने क्रममा जिल्ला सभापतिहरू गुटअनुसार नेतृत्वको बचाउ र घोचपेचमा केन्द्रित भएका हुन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने जिल्ला सभापतिहरूले बन्द सत्रमा संस्थापन पक्षको बचाउ गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सभापतिहरू भने सरकारको नेतत्वमा रहँदादेखि निर्वाचनमा टिकट वितरण गर्दासम्मका नेतृत्वको कमजोरीका कारण पार्टीको अवस्था कमजोर भएको भन्दै नेतृत्वमाथि खनिएका छन् ।कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पार्टी नेतृत्वले गरेका कमजोरीका कारण पार्टीको साख गिरेको भन्दै नेतृत्व पार्टी सञ्चालनमा असक्षम भएको बताए ।

उनले गत निर्वाचनमा आम कार्यकर्तालाई नेतृत्वले फरक फरक पार्टीको निर्वाचन चिह्नमा मतदान गर्न लगाएर आफ्नो असक्षमता देखाएको धारणा राखे ।

‘कहिले कुन चिह्नमा त कहिले कुन चिह्नमा मतदान गर्न लगाएर आम कार्यकर्ताको मनोबल गिराउने काम नेतृत्वले ग¥यो, जसका कारण जित सुनिश्चित भएका स्थानमा समेत पार्टीका उम्मेदवारले हार बेहार्नुपर्ने अवस्था आयो,’ चितवन सभापति श्रेष्ठले बन्द सत्रमा धारणा राख्दै भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बन्द सत्रमा संगठन सुदृढीकरण, नयाँ संरचनाअनुसारको पार्टीको विधान संशोधन र समसामयिक राजनीतिक विषयमाथि छलफल भइरहेको जानकारी दिए ।

उनले पार्टी रूपान्तरणतर्फको कदमका रूपमा भेलालाई लिइनुपर्ने भन्दै भेलामा जिल्ला सभापतिहरूले वस्तुगत अवस्थाका आधारमा धारणा राखिरहेको जानकारी दिए । भेलामा संगठन सुदृढीकरणका विषयमा समेत तल्लो तहदेखि नै नयाँ पद्धति कसरी अपनाउने भन्नेमा समेत छलफल भइरहेको छ ।

पार्टीका साधारण सदस्यदेखि क्रियाशील सदस्यसम्मलाई सक्रिय बनाउन नयाँ रणनीति बनाउने तयारी भेलाले लिएको छ । भेलाको बिहीबार (आज) समापन गर्ने कार्यतालिका छ । (राजधानी दैनिकबाट