३३किलो सुन काण्ड ,४अभियुक्तलाई (ईन्टरपाेल)मार्फत रेडकर्नर नाेटिस

 

काठमाडौं, असार ९ । ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो ।

प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खडका, गोरे भनिने चूडामणि उप्रेतीका दुबई बस्दै आएका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।

संगठित सुन तस्करीमाथि अनुसन्धान सुरु हुनेबित्तिकै फरार भएका अग्रवाललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । अग्रवालको खोजीमा प्रहरीको उच्च संयन्त्र लागिरहे पनि उनी पक्राउ परेका छैनन् । समितिले २५ जेठमा डिल्लीबजारस्थित अग्रवालको घरमा छापा मारेको थियो ।

संगठित सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय विशेष समितिले अहिलेसम्म एक सयभन्दा बढी शंकास्पद व्यक्तिसँग बयान लिइसकेको छ । समितिले ३९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा यसअघि नै मुद्दा पेस गरिसकेको छ ।

जसमध्ये ३४ जनालाई अदालत लगिएको थियो भने २ जना साधारण तारेखमा छुटेका छन् । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार अहिले ५ जनाको बयान जिल्ला प्रहरी कार्यालय, मोरङमा चलिरहेको छ ।

अकबर शाह पक्राउ

विशेष समितिले पुल्चोकमा रेस्टुरेन्ट व्यवसाय गर्ने अकबर शाहलाई पक्राउ गरेको छ । संगठित सुन तस्करीमा अकबरको पनि हिस्सेदारी रहेको समिति स्रोतको दाबी छ । काठमाडौंमा गोली हानी हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहका नातेदार शाहले लामो समयसम्म जमिमको सहयोगीका रूपमा स्पेसटाइम नेटवर्कअन्तर्गत च्यानल नेपाल र स्पेसटाइम दैनिकमा समेत काम गरेका थिए ।

यूएईबाट सूचना लिन सकस

अन्तरदेशीय संगठित सुन तस्करीबारे संयुक्त अरब इमिरेट्स (यूएई) बाट सूचना लिन कूटनीतिक तथा कानुनी अडचन देखिएको छ । तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय विशेष समितिले यूएईबाट सहजै सूचना लिन नसक्ने देखिएको हो । कान्तिपुरमा खबर छ ।