छेपाराकाे र कमिलाकाे कथा जस्तै बनेको छ राप्रपा पार्टीहरूको एकता

काठमाडौ ९असार ।कुनै एउटा जंगलमा बस्ने कमिला र छेपाराबीच राम्रै दोस्ती थियो । दुबैका स्वार्थ र स्वभाव फरक हुने नै भयो । कमिला मेहनती थिए, दिउँसो काम गर्थे । घर बनाउँथे । राति घरभित्र न्यानोमा सुत्थे । छेपारा दिउँसो घाम ताप्थे, गफ गर्थे । जब साँझ पर्थ्यो, जाडो हुन थाल्थ्यो तब उनीहरु कमिलाको मेहनतलाई उचित ठान्दै छलफल गर्थे र प्रण गर्थे भोलि त हामी पक्कै घर बनाउनेछौं ।

नेपालको राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धारका दलहरुले छेपारा प्रवृत्तिलाई पछयाइरहेका छन् । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच २०७३ मंसिर ६ गते निकै लामो छलफलपश्चात पार्टी एकता घोषणा भयो । फागुन ७, ८ र ९ गते एकता महधिवेशन भयो । यसमा प्रकाशचन्द्र लोहनीलगायत पनि समेटिए ।

कम्युनिस्ट र कांग्रेसपछिको अर्को धारका रुपमा राप्रपा उदाएको भनेर कतिपयले अर्थ्याए । एकतापछि संसदमा राप्रपाको शक्ति ३७ सिटमा पुग्यो र बलियो उपस्थिति देखाउन सफल भयो । तर, त्यो एकता १७ दिन पनि टिकेन । फागुन २८ गते नै लोहनीले नयाँ पार्टी घोषणा गरे । राप्रपाका अन्य केही झुन्ड पनि मिसिने र छुट्टिनेक्रम चलिरह्यो । यही बीचमा तीनवटै तहको निर्वाचन भयो । परिणाम ‘शून्य’ आएपछि नेतृत्वको शिर निहुरिय।

निर्वाचनकै मुखमा फुटेर तीन टुक्रा भएका राप्रपा अहिले फेरि एकताको प्रयासमा छन् । र, पार्टीलाई तेस्रो शक्ति बनाउने प्रण गरिरहेका छन्, छेपाराले जस्तै ।

पुनः एकीकरणको गृहकार्यअन्तर्गत राप्रपाले वरिष्ठ उपाध्यक्ष दीपक बोहोराको संयोजकत्वमा चार सदस्यीय पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल गठन गरेको छ । जेठ २५ गते गठित कार्यदलको पहिलो बैठक असार ५ गते मंगलबार बस्यो र एकता प्रक्रियालाई जतिसक्दो छिटो टुङ्ग्याउन पहल गर्ने निर्णय गर्यो । दिनभर घाम तापेर बसेको छेपाराले साँझमा चिसो सिरेटो चल्न थालेपछि भोलि त पक्कै घर बनाउने भनी कसम खाए जस्तै ।

विगतमा जे-जस्तो भए पनि अहिलेको राजनीतिक ध्रुवीकरणले आफूहरुलाई छुट्टै बस्न नदिएको नेताहरुले बताउन थालेका छन् । राप्रपाका नेता राजाराम श्रेष्ठका अनुसार कम्युनिस्ट र कांग्रेस नेतृत्वमा अहिलेको राजनीति ध्रुवीकृत भइरहेकाले अर्को राष्ट्रवादी शक्ति अपरिहार्य भएकाले तीनवटा राप्रपा मिल्नुको विकल्प रहेन ।

एकीकरणका लागि लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीसँग पनि कुरा अघि  बढाइएको छ । डा. लोहनी अहिले अमेरिकामा छन् । उनी स्वदेश फर्किएलगत्तै एकताको प्रक्रियाले नयाँ रुप लिने श्रेष्ठले बताए ।

एकताको प्रयास अघि बढाएको भनिएको राप्रपाको इतिहास छेपाराको कथा जस्तै टुटफुटले भरिपूर्ण छ । व्यक्तित्वको टकराव, चुनाव चिह्नलगायतका कारणले फुटिरहने राप्रपा कहिल्यै एक भएर रहन सकेको छै ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्षसमेत रहेका डा. लोहनीले कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी त्यागेका थिए । अब कस्तो प्रतिक्रिया जनाउने हुन् वा एकता प्रक्रियालाई कुन रुपमा लिनेछन् भन्ने हेर्न बाँकी छ ।

राप्रपा एकीकरणमा राजनीतिक कार्यदिशाको प्रश्न पनि निकै चोटिलो छ । अहिलेको राजनीतिक व्यवस्थामा राप्रपाले राजसंस्थालाई पनि मिलाउन खोजेको छ । राजासहितको लोकतन्त्र नै राप्रपाको राजनीतिक कार्यदिशा हुने नेता श्रेष्ठले बताए ।

कम्युनिस्ट पार्टी एक भई सशक्त रुपमा अगाडि बढेको छ भने कांग्रेस आफ्नो छुट्टै प्रजातान्त्रिक धारलाई बलियो बनाउने प्रयत्नमा छ । यस्तो ध्रुवीकृत राजनीतिमा आफूलाई ‘राष्ट्रवादी शक्ति’का रुपमा चिनाउन रुचाउने राप्रपाले एकतामार्फत कार्यकर्ता र समर्थकको मन जित्नु अपरिहार्य भएकाले मिल्नुको विकल्प नरहेको बुझाइमा नेताहरु छन् ।

 

फुटको इतिहास

२०४७ जेठ १५ गते एकैदिन राप्रपा चन्द र राप्रपा थापा नामका दुईवटा पार्टी खुलेका थिए । एकै पार्टी खोल्ने भनेर भएको तयारीले पूर्णता पाउन नसकेपछि एकैदिन तर दुईवटा पार्टी खुल्न पुगेको थियो र नाम राखिएको थियो राप्रपा ।

तर, निर्वाचन आयोगमा पहिले सूर्यबहादुर थापाको अध्यक्षतामा गठित राप्रपा थापा दर्ता भयो । त्यसैदिन लोकेन्द्रबहादुर चन्द अध्यक्ष रहेको राप्रपा चन्द पनि दर्ता भयो । राप्रपा नाम भएका दुइटा निवेदन आएपछि आयोगले नै राप्रपा पछाडि थापा र चन्द थपिदिएको थियो ।

राप्रपाको विभाजनका कारण २०४८ सालको संसदीय चुनावमा दुबै राप्रपाले सोचेजस्तो परिणाम ल्याउन सकेनन् । २ सय ५ क्षेत्रको प्रतिनिधिसभामा राप्रपा चन्दबाट पशुपतिसम्सेर राणा सिन्धुपाल्चोक, प्रकाशचन्द्र लोहनी नुवाकोट र रामकृष्ण आचार्य रसुवाबाट विजयी भए । उता राप्रपा थापाबाट भने अक्करबहादुर सिंहले दार्चुलाबाट विजय हासिल गरे । चुनाव हारेपछि दुबै पार्टीलाई मिल्नुपर्ने चेतना र दबाब पर्यो ।

अन्ततः २०४९ सालमा दुबै पार्टी एक भएर राप्रपा बन्यो । २०४९ मा भएको एकताको प्रतिफलस्वरुप राप्रपा २०५१ सालको मध्यावधि निर्वाचनमा प्रत्यक्षतर्फ २० सिटमा विजयी भयो भने देशभरबाट समेत राम्रै मत पायो । जसका कारण राप्रपा त्यतिबेलाको त्रिशंकु संसदमा सत्ताको साँचो बन्यो ।

तर, यो एकता राप्रपाले धेरै दिन टिकाउन भने सकेन । एकताले ल्याएको खुसी अंहकारमा परिणत भयो । उदार र कठोर पञ्चहरुबीच ध्रुवीकरण देखा पर्न थाल्यो । विवादका बीच २०५४ साल फागुनमा फेरि राप्रपा फुट्यो । २०५६ सालको निर्वाचनमा राप्रपा चन्दले जित्न नसके पनि राष्ट्रिय दलको हैसियत भने जोगायो ।

राप्रपाबाट ११ जनाले जिते पनि देशभरबाट मत घट्यो । जसका कारण २०५१ देखि शासनसत्तामा प्रभाव जमाएको राप्रपाका नेताहरुको महत्व घट्न थाल्यो । सत्ताको साँचो गुमेपछि दुबैले एकताको आवश्यकता देखे । कार्यकर्ताको दबाब महसुस गरे । फेरि २०५७ सालमा दुबै पार्टी एक भए । राप्रपाको फुटमा दरबार पनि कारक बन्यो । जब राजा ज्ञानेन्द्रले सक्रिय शासनको सुरुवात गरे त्यसपछि राप्रपामा पुनः विवाद बढ्दै गयो ।

लुच्चा छेपारा दिनभर घाम ताप्दै कमिलाको मेहनतको प्रशंसा गर्थे साँझ परेपछि तिनै कमिलाले भण्डारण गरेका खानेकुरा खाइिदिन्थे तर आफूले कहिल्यै घर बनाएनन् । अब त गफाडी छेपारालाई कमिलाको मेहनत खोस्न सिकाउने राजसंस्था पनि इतिहास भएको छ ।

दरबारले राप्रपा कब्जा गर्ने वा फुटाउने रणनीति अवलम्बन गरिरह्यो । फलस्वरुप २०६२ पुष २६ र २७ गते काठमाडौंमा विशेष भेला बोलाएर राप्रपाको अध्यक्ष कमल थापा भएको घोषणा गरियो । तर, निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन ।

 

त्यसपछि त्यो समूह राप्रपा नेपाल नामकरण गर्दै निर्वाचन आयोगमा दर्ता भयो । राप्रपा नेपाल गठन हुनुअगावै राजाकै सक्रिय शासनको समयमा राप्रपाबाट संस्थापक अध्यक्ष सूर्यबहादुर थापा अलग भई राष्ट्रिय जनशक्ति पार्टी गठन गरे ।

पहिलो संविधानसभा चुनावमा ३ सिट हात पारेको जनशक्त्ति पार्टी र राणा अध्यक्ष रहेको राप्रपाबीच २०७० असारमा एकता भयो । अवसर पाउन साथ विवाद गर्ने र फुट्ने राप्रपा नेताहरु अलि अप्ठ्यारो पर्नासाथ एकताको हात फैलाउन तयार भइहाल्ने छेपारा प्रवृत्तिका छन् ।

कमिलाहरु परिश्रमी थिए । लुच्चा छेपारा दिनभर घाम ताप्दै कमिलाको मेहनतको प्रशंसा गर्थे साँझ परेपछि तिनै कमिलाले भण्डारण गरेका खानेकुरा खाइिदिन्थे तर आफूले कहिल्यै घर बनाएनन् । अब त गफाडी छेपारालाई कमिलाको मेहनत खोस्न सिकाउने राजसंस्था पनि इतिहास भएको छ ।