काँग्रेस महासमिति बैठकले हिन्दुराज्यलाई स्वीकार गर्लान् त ?

 

हेटौंडा, असार १२ । नेपाली कांग्रेसको हालै सम्पन्न जिल्ला सभापतिको भेलामा हिन्दु राष्ट्रको मुद्दा जोडदार रुपमा उठेको छ । भेलामा जिल्ला सभापतिहरुले हिन्दु राष्ट्रको एजेन्डालाई महासमिति बैठकबाट पारित गराएर पार्टीको एजेन्डा बनाउनुपर्ने माग गरेका छन् ।

डडेल्धुराका सभापति कर्ण मल्लले उक्त मुद्दा उठाएपछि पर्साका अजय द्विवेदी, अछामका भरत स्वाँर, दाङका कीर्ति खड्का, पर्वतका खिमप्रसाद भुसालले पनि पार्टीले हिन्दु राष्ट्रको मुद्दा लिएर जानुपर्ने बताउनुभएको थियो । कांग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा धेरै प्रभावशाली शीर्षसमेत खुलेर लागेका छन् ।

स्व. खुमबहादुर खड्काले त हिन्दु राष्ट्रको मुद्दा अभियानकै रुपमा सञ्चालन गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेस हिन्दु राष्ट्र महाअभियानका रुपमा कार्यालय नै स्थापना गरी निरन्तर संघर्षका लागि समिति नै निर्माण गरेर लागि पर्नुभएको थियो । खुमबहादुरले उठाउँदै आउनुभएको हिन्दुराष्ट्रको मुद्दा हेटौंडामा चर्किएपछि कांग्रेसभित्र बहस शुरु भएको छ ।

पार्टीको केन्द्रीय समितिमा समेत शंकर भण्डारी लगायत दर्जनभन्दा बढी केन्द्रीय सदस्य हिन्दुराष्ट्रका लागि निरन्तर लागि पर्दै आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको कार्यसमिति बैठकले पारित गरेर ल्याएको हिन्दु राष्ट्रको मुद्दा जिल्ला सभापति मल्लले बैठकमा राख्नुभएको थियो ।
उहाँले अन्य सभापतिलाई पनि उक्त एजेन्डाको पक्षमा उभिन आग्रह गर्नुभएको थियो ।

आगामी दिनमा हिन्दु राष्ट्रको स्थापना पार्टीको एजेन्डा र प्राथमिकता हुनुपर्ने जिल्ला सभापतिको तर्क छ । धर्म परिवर्तन हाल डरलाग्दो रोगका रुपमा देखा परेको भन्दै उहाँहरुले आगामी दिनमा हिन्दुत्व प्रवद्र्धनलाई तीव्रता प्रदान गर्नु जरुरी रहेको बताउनुभएको थियो ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।

राप्रपाले घोषणापत्रमै नेपालको भूराजनीतिक अवस्था एवम् धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनाबी राजनीतिभन्दा माथि रहेर नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने अडान दोहो¥याए पनि कांग्रेस आधिकारिकरुपमा मौन थियो । हेटौंडा भेलामा त्यो मौनता तोडिएको छ ।

सुन्दर, सबल, समतामूलक एवम् समृद्ध राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिका निमित्त हिन्दुराष्ट्र प्रणालीलाई आत्मसात् गर्नुपर्ने जिल्ला सभापतिहरुको तर्क छ । सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाली पहिचानका रुपमा हिन्दुराष्ट्र पुनस्र्थापना गरिनुपर्ने आवाज उठेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको हिन्दु राष्ट्रको वैचारिक मुद्दा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताएको बेला चुनाबमा साथ दिएको कांग्रेसमा पनि हिन्दुराष्ट्रको मुद्धा पेचिलो बन्ने संकेत देखिएको छ ।

थापाले पार्टीले अवलम्बन गरेको हिन्दुराष्ट्रको एजेन्डालाई स्थापित गर्न आग्रह गर्दै मुलुकको निकासको अन्तिम विकल्प हिन्दु राष्ट्र भएको विचार व्यक्त गर्दै आउनुभएको छ । [नेपाल समाचारपत्र]