पूर्व माअाेवादी केन्द्रकाे पेरिसडाँडा बिक्री गर्न चलखेल सुरु

असार१४ काठमाडौं। दाहाल नभएको मौका पारी उनका भूतपूर्व मजदुर नेताहरुले पेरिसडाँडा बिक्रि गर्न चलखेल गरिरहेका छन् । तात्कालीन माओवादी केन्द्र एमालेलाई बुझाएपछि उत्पन्न तनाव र पत्नी सीता दाहालको उपचारको चिन्तासँगै यतिबेला (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुरमा छन् । (ने क पा) का एक उच्चस्तरीय नेताका अनुसार उनी त्यहाँ ‘रअ’का केही मान्छेहरुसँग मन्त्रणा गरिरहेका छन् । भद्र सहमतिअनुसार अढाई वर्षमा ओलीले सरकार नछोड्ने बलियो आशंका उनमा छ । अर्कातिर उनका पकडका मान्छेहरु धमाधम ओली क्याम्पमा छिरेका छन् ।

यस्तो खाले दुविधा र तनावमा रहेका प्रचण्डको प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति बन्ने महत्वकांक्षालाई दिल्लीले आफ्नो स्वार्थ अनुकूलको प्रयोगमा लैजान चाहँदै छ । यसका लागि दिल्लीले दाहालमार्फत् नयाँ खिचडी पकाउन थालेको छ । यता दाहालका मजदुर नेताहरुले भने दाहाल सिंगापुर भएको मौका पारी आफूले हिनामिना गरेको युवा स्वरोजगार कोषको करोडौं रकम तिर्न भन्दै पेरिसडाँडाको जग्गा बेचबिखन गर्न तीव्र चलखेल सुरु गरेका छन् ।

समाचार स्रोतका अनुसार तात्कालीन एमाओवादी नेतृत्वको अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलसहितका नेताहरुले बैशाख ८ गते २०६८ मा युवा स्वरोजगार कोषबाट मजदुर सहिद स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा लिएको पाँच करोड रुपैयाँ तिर्न भनी उक्त जग्गा बिक्रि गर्न थालेका हुन् । युवा स्वरोजगार कोषबाट लिएको पाँच करोड रुपैया मजदुर नेताहरुले आपसी मिलेमतोमा व्यापक हिनामिना गरेका छन् । कोषले पटक पटक ताकेता गर्दा पनि रकम नतिरेपछि मजदुर नेताहरुको नाममा भएको जग्गा रोक्का गर्ने र कालोसूचिमा नाम सार्वजनिक गर्ने तयारी गरेपछि उनीहरुले स्वरोजगार कोषलाई जग्गा बेचेर ऋण तिर्ने बताउँदै आएका छन् ।

तर जग्गा बेच्ने पक्षमा दाहाल, वर्षमान लगायतका नेताहरुको सहमति नरहेको बुझिएको छ । त्यसैले दाहाल नभएको मौका पारी मजदुर नेता शालिकराम जमरकट्टेलको दबाबमा पेरिसडाँडामा रहेको २१ आना जग्गा बेचविखन गर्ने चलखेल बढेर गएको छ । यसरी दाहाल र वर्षमानको इच्छा विपरीत दाहालकै नजिक मानिने मजदुर नेताहरुले जग्गा बेच्ने चलखेल बढाएपछि दाहाललाई ती मजदुर नेताहरु ओली क्याम्पमा गएका हुन् कि भन्ने गम्भीर आशंका उत्पन्न भएको स्रोतको दाबी छ ।

प्राप्त समाचारअनुसार मजदुर नेता गणेश रेग्मी अध्यक्ष रहेको मजदुर सहिद स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा लिएको युवा स्वरोजगार कोषको करोडौं रकममाथि व्यापक दुरुपयोग भएको पाइएपछि कोषले मजदुर नेताहरु बाबुराम गौतम, पिताम्बर गिरी, उषा देवकोटा, सोम तामाङ, प्रकाश श्रेष्ठ, धनबहादुर विक, भूमबहादुर रेग्मी, कुमार पन्त, प्रदीप पुरीलगायतको नाममा रहेको जग्गा रोक्का गरेको छ । यसरी कोषले जग्गा रोक्का गरिदिएपछि मजदुर नेताहरु पेरिसडाँडाको जग्गा बेचेर कोषको ऋण तिर्ने दाउँमा लागिरहेका छन् ।

समाचार स्रोतका अनुसार मजदुर नेताहरु बाबुराम गौतम, जय कार्की र गणेश रेग्मीको नाममा रहेको उक्त जग्गा जय कार्की र जगत सिम्खडालगायत बहुमत मजदुर नेताहरु भने उक्त जग्गा नबेच्ने पक्षमा उभिएपछि तात्कालीन माओवादी केन्द्रका मजदुर नेताहरुबीच अहिले मारामार चलिरहेको समाचार स्रोतले दाबी गरेको छ । राम्रै कमिसन आउने देखेपछि पूर्व विध्यार्थी नेता युवराज चौलागाईंले जग्गा दलालहरुलाई उक्त जग्गा पटक पटक देखाइसकेको पनि समाचार स्रोतको दावी छ ।