गाई काटेको अभियाेगमा १२बर्ष जेलचलन

१५ असार बाग्लुङ । गाई काटेर खाएको अभियोगमा नवगठित (ने क पा)का कार्यकर्तालाई १२ वर्ष जेल सजाय भएको छ । बाग्लुङको निर्वाचन क्षेत्र नंं. २ को ख तथा साविक बोबाङ गाविस वडा नं. ९ का ६ जना (ने क पा)का कार्यकर्तालाई गाई काटेर खाएको अभियोगमा जिल्ला अदालतले जेल सजायको फैसला गरेको हो ।

स्थानीय सुराकीको आधारमा गाई काटेर खाएको अभियोगमा प्रहरीले पक्राउ गरी अभियुक्तहरुलाई जिल्ला अदालतमा पेश गरेपछि न्यायाधिश प्रकाशप्रसाद पण्डितले दोषी करार गरी १२ वर्षे जेल सजायको फैसला सुनाएका थिए । यसरी सजाय सुनाइएका (ने क पा)का कार्यकर्तामा मनबहादुर घर्ती, जितबहादुर घर्ती, बले विक, सीता बुढा, ध्रुव घर्ती, मनबहादुर विकलगायत रहेका छन् ।

०७४ फागुनमा सुनाइएको उक्त सजायसँगै उनीहरु सबैलाई अहिले जेल चलान गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा बाग्लुङ इन्चार्ज निलबहादुर पुनका अनुसार गाई काटेर खाएको अभियोगमा जेल चलान गरिएकाहरु प्रायः पूर्व एमाले र माकेका स्थानीय कार्यकर्ता हुन् ।

धर्मनिरपेक्ष राज्य घोषित भएको र संवैधानिक व्यवस्था अनुसार सबैलाई धार्मिक स्वतन्त्रता प्रदान गरिएको अवस्थामा गाई काटेर खाएको अभियोगमा जेल सजायको फैसला हुनु कानुनकै उलंघन भएको नेता पुनले बताए । उनले भने, “गाई पुज्नेले गाई पुज्न पाउनु पर्छ, खानेले काटेर खान पाउनु पर्छ । यो कानुनले दिएको अधिकार हो । अठार मगराँतामा कूल पूजा गर्दा परापूर्वकालदेखि नै गोरु काटेर मासु चढाउने प्रचलन रहँदै आएको छ । गाई काटेर खाएको अभियोगमा यसरी जेल सजाय हुनु भनेको कानुनको नै उलंघन हो । ओली नेतृत्वको सरकारले उनीहरुलाई तत्काल जेलमुक्त गरी कानुनको सम्मान गर्नुपर्छ ।

नेता पुनका अनुसार राजनीतिक र प्रशासनिक तहमा जेलसजायका विरुद्ध क्रान्तिकारी माओवादी, एमालेका हरिबहादुर घर्ती, तत्कालीन माकेका शेरमान घर्ति लगायतका जिल्ला नेताहरुले पहल गरेपनि कुनै सुनुवाइ भएन ।

उनका अनुसार काठमाडौंका फाइभ स्टार होटलमा दिनहुँ गाईको मासुको परिकार बिक्री भइरहेको छ । उनी भन्छन्, “गाईको मासु विक्री गर्ने होटल मालिक र खानेहरुलाई पनि कारबाही हुनुपर्छ । जनयुद्धको बेला गाईको मासु प्रचण्ड बाबुराम लगायतका नेताहरुले खाँदै आएका हुन् । वर्तमान सत्तामा आसिन हुन पुगेका ती नेताहरु आफूले आफैलाई कारबाही गर्न सक्छन् कि सक्दैनन् । जनताले उनीहरुलाई हेरिरहेका छन् ।