प्रदेश ७ले अर्थसम्बन्धी विधेयक पारित सँगैअागामी अावकाे बजेट पनि पारित

धनगढी, १६ असार । प्रदेश ७ को प्रदेशसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक २०७५÷०७६को बजेट तथा उक्त बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ ।

बैठकले आव २०७५÷०७६ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ समेत पारित गरेको छ । सभामुख अर्जुनबहादुर थापाले ती विधेयक निर्णयार्थ पेश गर्दा बैठकले पारित गरेको हो ।

यसअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उक्त प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नु भएको थियो ।
आगामी आवका लागि प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै योजनामन्त्री बोहराले सबैलाई साथमा लिएर सरकारले प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सरकारले विधि र नीतिको पालना गर्दै बजेट विनियोजनका सम्बन्धमा प्रतिपक्षीसँग भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशसभाको पहिलो बैठकमा आव २०७५÷७६ को बजेट माथि भएको छलफलमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, तारा लामा तामाङ, कृष्णबहादुर चौधरी र वीरमान चौधरीले भाग लिनु भएको थियो ।
प्रदेश नं ७ को सरकारले यही असार १ गतेको प्रदेशसभाको बैठकमा आव २०७५÷७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको थियो ।

कुल विनियोजितमध्ये चालुतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख एक हजार अर्थात् ५३.२६ प्रतिशत र पूँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार अर्थात ४६.७४ प्रतिशत रहेको छ । प्रदेशसभाको अर्काे बैठक असार १८ गते बिहान ८ बजे बस्ने भएको छ।