प्रदेश ७का अार्थिक मामिला मन्त्रीलाई उनकै निर्वाचन क्षेत्रमा कालोझण्डा

धनगढी, असार १७ । बजेट विनियोजनमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकतामा राखेको भन्दै आलोचित बनेका प्रदेश ७ का आर्थिक मामिला मन्त्री झपट बोहरालाई उनकै निर्वाचन क्षेत्रमा कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

आगामी आर्थिक बर्षको बजेटमा स्थानीयस्तरबाट सिफारिस गरिएका योजना भन्दा पनि आफ्नो मनपरी रुपमा निर्वाचन क्षेत्रमा योजना हालेको भन्दै उनकै निर्वाचन क्षेत्र अछामको रामारोशनमा उनकै पार्टीका कार्यकर्ताले आइतबार कालोझण्डा देखाएका हुन्।

रामारोशन गाउँपालिकाले आइतबार आयोजना गर्न लागेको ‘जनतासँग मन्त्री’ कार्यक्रममा सहभागि हुन बजेट पास भएकै दिन अछाम हिँडेका बोहरा कार्यकर्ताको विरोध पछि खाली फर्किएका छन्। नेकपाका कार्यकर्ताको विरोधपछि गाउँपालिकाले गर्ने भनेको उक्त कार्यक्रम स्थगित भएको छ।

‘बोहराले निर्वाचनका समयमा जुनजुन योजनामा प्रतिबद्धता जनाएका थिए अहिले अर्थमन्त्री हुँदा अर्कै योजनामा मात्र बजेट खन्याए’तत्कालिन माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज शुशिल साउँदले भने, ‘जनतासमक्ष एउटा प्रतिबद्धता जनाउने बजेट अर्कै ठाउँमा हाल्ने काम भयो।’ अर्थमन्त्री बोहरासँग बसेर छलफल गर्ने योजना कार्यकर्ताको भए पनि उनले वास्ता नगरेका कारणले मुजाबगरमा कालो झण्डा देखाएर बिरोध जनाएको साउदले जानकारी दिए।

बोहराले चुनावमा भोट माग्दा आफूले जितेपछि तिमिल्सेन रामारोशन सडक कालोपत्र गर्ने पहिलो प्राथमिकता जनाए पनि अहिले भने उक्त सडकलाई वेवास्ता गरेको आरोप कार्यकर्ताको छ। बोहराले आफ्नो गाउँलाई जोड्ने जयगढ माझेठाना रामारोशन सडक डबल ट्रक तथा कालोपत्रेका लागि तीन करोड विनियोजन गरेका छन् । जब कि पर्यटकीयस्थल रामारोशन जोड्ने तिमिल्सेन रामारोशन सडक पहिलो प्राथमिकतामा परेर काम हुँदै गरेको छ।

रामारोशन क्षेत्र युद्धका बेला बढी सहिद, वेपत्ता, घाइते, अपांग, अंगभंग भएको क्षेत्र भएकाले पीडितलाई समेटिने कार्यक्रम ल्याउन हामीले माग गरेका थियौँ’ नेकपाका रबिन्द्र साउँदले भने, ‘बजेटमा पीडितलाई समेट्ने कुनै पनि योजना नपरेकाले बिरोध गरेका हौँ।

गाउँपालिकाले सिफारिस गरेर प्रक्रियामा भएका योजना नसमेटिएको उनले सुनाए। बोहराको निर्वाचन क्षेत्र अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा बजेटमा ३० वटा भन्दा बढी योजना समेटिएका छन् भने त्यसमा पनि रामारोशन गाउँपालिकामा अन्य भन्दा बढी छन्।