बर्षाकाे कारण देशैभर कुनठाँउ कति क्षति भयो हेर्नुहाेस् जानकारी विवरण

काठमाडौं असार १९ । दुई दिनदेखि परेको अवीरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुवानमा परी ११ जनाको ज्यान गएको छ भने मधेशका अधिकांश जिल्लाका हजारौं घर डुवानमा परेका छन् । बाढी, पहिरो र डुवानका कारण जनजीवन अत्यन्तै कष्टकर बन्न पुगेको छ । सरकारी उद्धारमा भएको ढिलासुस्तीका कारण प्राकृतिक प्रकोपमा परेका नागरिकको जीवनको सुरक्षा अझ जोखिमपूर्ण बन्दै गएको छ ।

आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित बनेका छन् ।  

रोल्पा र बाँकेमा बाढी–पहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन् । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भएको छ । बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु हुन पुगेको छ ।

लगातारको भारी वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न बनेका छन् । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन् । 

पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ । बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ भने एक विद्यार्थी अझै बेपत्ता छन् । वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ ।

 

सडकमा तीन फिटसम्म पानी जमेको छ । महानगरका आदर्शनगर, पानीटंकी, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, भिस्वा, नगवा, छपकैया, जेलरोडलगायत महानगरका थुप्रै क्षेत्र डुबानमा परेपछि २ अर्ब ८० करोड रुपैयाँ खर्चमा यसै वर्ष बनेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको उपादेयतामा प्रश्न खडा भएको छ ।

कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ । काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

दुई दिनयताको लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसो ३ बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ। करिब सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला खालका सवारी साधनको आवागमन बन्द गर्दै आएको छ।

नदी तटीय क्षेत्रमा तत्काल खतरा नभए पनि निरन्तर नदीमा जलस्तर बढदै गएकाले सुरक्षित रहन आसपासका बासिन्दालाई सचेत गराइएको उनले बताए ।

बर्षाका कारण नवलपरासी, रुपन्देही, बर्दिया, कपिलवस्तुलगायतका जिल्लामा पनि डुवानका कारण हजारौं घरपरिवार विस्ताथित बनेका छन् । भारतीय पक्षले सीमा एकतर्फी रुपमा बाँधृेको बाँधका कारण मधेश तथा भारतीय सीमा बसोबास गर्ने नेपाली नागरिक बर्षेनी डुवानका कारण आफ्नो थातथलोबाट विस्थापित हुँदै आउनु परेको छ । हिउँदमा खोल्ने र बर्षायाममा बाँधका ढोकाहरु बन्द गर्ने गरेका कारण पनि हजारौं नागरिक बर्षेनी डुवानका कारण विस्थापित हुनु परेको हो । भारतीय सरकारसँग सीमा समस्या र बाँध तथा तराई मधेसमा हुने डुवान समस्याको दीर्घकालीन समाधानका लागि ठोस पहल गर्न नागरिक तथा राजनीतिक स्तरमा पटक पटक दबाब दिइएको भए पनि ओली सरकारले कुनै ठोस कदम चालेको छैन र उद्दार कार्यमा पनि तदारुकता नअपनाउँदा नागरिकहरु कष्टकर जीवन गुजार्न बाध्य छन् ।