कैलालीको दक्षिणपूर्वी क्षेत्र भजनी नगरपालिकामा २५०घर डुबानमा

कैलाली, असार १९ । लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा भजनी नगरपालिकामा बाढीले २५० घर डुबानमा परेका छन् । नदीको पानी गाउँमा पस्दा २५० घर डुबानमा परेका  हुन । भजनी नगरपालिका भएर बग्ने काँन्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ ।

भजनी नगरपालिकाको वडा नम्बर ३ को पकरियापुर, वडा नम्बर ५ को नौबस्ता, कटीपुर, लालबोझी, वडा नम्बर ७ को सिराधानी बस्ती, गणेशमान मुक्तकमैया बस्ती, वडा नम्बर ८ को काँडाढिक र वडा नम्बर ९ को खुरखुरिया र ओखरपुर बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

डुबानमा परेका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । डुबानमा परेका बस्तीका स्थानीयलाई बस्तीमा वनाईएको सेफ हाउसमा राखिएको छ भने कतिपय परिवारलाई हुलाकी राजमार्गमा राखिएको छ । बाढी प्रभावित क्षेत्र भजनी नगरपालिकामा स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।