प्रचण्ड र केपीकाे नेतृत्वको ,नेकपा, कम्युनिस्ट पार्टी हाेइन:वैध

फाइल फाेटाे

काठमाडौं असार २०। पूर्वजनमुक्ति सेनालाई राधानीमा अभिनन्दन गरिएको छ । ‘जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल’को बुधबार संवाद डबलीमा शहिद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेना सम्मान गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड–केपी नेतृत्वको (नेकपा) कम्युनिस्ट नभएको बताएका छन् । जनताको बलिदानमा टेकेर अहिले दलाल संसदीय व्यवस्थामा डुबेको बताउँदै क्रान्ति सम्पन्न गर्न असल कम्युनिस्टहरु एकजुट हुनुपर्ने बताए । प्रचण्ड नेपाली जनताको क्रान्ति र परिवर्तनको लडाईँमा खलनायक भएको उनको भनाई छ ।

पूर्वजनमुक्ति सेनालाई संगठित बनाएर क्रान्तिको लागि आधार तयार पार्नुको विकल्प नरहेको बताउँदै जनमुक्ति सेनाको सामथ्र्य र इतिहास देखेर सरकार आतंकित भएको बताए । महासचिव किरणले जनयुद्धमा भएको जनमुक्ति सेनाको योगदान कहिल्यै भुल्न नहुने र थप सशक्त बनाउनुपर्नेमा जोड दिए । जनयुद्धका सहिद र बेपत्ता योद्धाको सपना पूरा गर्ने दायित्व आफूहरुमाथि आएको उनको भनाई छ ।

नेकपा (माओवादी केन्द्र) संयोजक गोपाल किराँतीले अहिलेको दलाल सरकारले नै पूर्वजनमुक्ति सेनालाई सक्रिय र संगठित हुने वातावरण बनाइरहेको बताए । देशबाट सामन्ती शासन र तानाशाही व्यवस्था भत्काउन जनयुद्धमा सहिद र बेपत्ता योद्धाले बलिदान र त्याग गरेको स्मरण गराउँदै सहिद र बेपत्ताको सपनामाथि प्रचण्डले धोका दिएको बताए । अब देशमा क्रान्ति हुने किराँतीको धारणा छ । हरेक समूदाय राज्यका अधिकारको दृष्टिले सबैतिर पछाडि पारिएको भन्दै संघर्षमा जानुको विकल्प नरहेको बताए ।

जनक्रान्तिका महान शहिद परिवार समाज नेपालका केन्द्रीय संयोजक कर्णजीत बुढाथोकी ‘सुशिल’ ले सरकारले जनयुद्ध लडेर देशबाट सामन्ती राजतन्त्र फाल्न सफल पूर्वजनमुक्ति सेनाको योगदानलाई सम्मान गर्न अभिनन्दन कार्यक्रमले सहयोग पुर्याउने बताए ।

देशमा बढ्दै गइरहेको अराजक्ता र राष्ट्रघातका कारण पूर्वजनमुक्ति सेनाको काँधमा नयाँ जिम्मेवार थपेको बताए । जिम्मेवारी पूरा गर्न नेकपा –माओवादी केन्द्र) सदैव तयार रहेको र संगठित बनाउने काम तीव्रता बढिरहेको बताए ।
प्रचण्ड–ओली दलाल संसदीय व्यवस्थामा फसेको र नेपाली कांग्रेस जिर्ण बनेको बेला नयाँ क्रान्तिकारी शक्तिले जनताको सत्ता सम्हाल्नुपर्ने बेला आइसकेको उनको भनाई थियो ।

कार्यक्रममा राजन बुढाथोकी, रिमा, कर्मा, पेमा लामा, जटिल कार्कीलगायत सहिद परिवार र पूर्वजनमुक्ति सेना गरी पाँच दर्जनलाई सम्मान अभिनन्दन गरिएको थियो । उनीहरुले जनयुद्धको नेतृत्वका गद्दारीका कारण अधुरो जनयुद्धलाई सम्पन्न गर्न जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए ।