स्थानीय तहमा ५०प्रतिशतले गाउँ र नगरसभामा बजेट पेश गरेनन्

काठमाडौं, असार २१ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार मुलुकभरका स्थानीय तहले असार १० गतेभित्र बजेट पेस गरिसक्नुपर्ने थियो । तर, कानुन उल्लंघन गर्दै देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ८७ वटाले (५० प्रतिशत) गाउँ वा नगरसभामा १० गतेभित्रै बजेट पेस गरेनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केही स्थानीय तहले १० गतेपछि ल्याए पनि २ सय ९९ (४० प्रतिशतं) ले बल्ल बजेटको सुरसार गर्दै छन् ।

बजेट नल्याउनेमा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका मात्र होइन, एउटा महानगरपालिकासमेत छ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट ल्याउने बेला जापान भ्रमण (असार ७ देखि १२ गतेसम्म) मा गए । उपमेयर गीता बस्यालको नेतृत्वमा गएको ७ जनाको टोली बजेट ल्याउने दिन जापान भ्रमणमा व्यस्त थियो । तर, भ्रमणका कारणले बजेट ढिलो भयो भन्ने कुरामा मेयर चिरिबाबु महर्जनले सहमति जनाएनन् ।

‘उहाँहरू यहीँ भएको भए पनि १० गते बजेट ल्याउने अवस्था थिएन,’ उनले भने, ‘प्राविधिक कारणले ढिलो भएको हो ।’ बजेट ल्याउन नसकेको प्राविधिक कारणबारे उनले भने, ‘राजस्व प्राप्त हुने क्षेत्रमा पहिले टेन्डरबिनै काम गर्ने गरिएको रहेछ, उक्त विषय मिलाउन समय लाग्यो । आय संकलनको मुख्य क्षेत्र भएकाले टेन्डरको विषय नटुुंग्याई बजेट ल्याउन सकेनौं । कान्तिपुर दैनिकबाट साभार