देउवा सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखहरू पदमुक्त

काठमाडौं ,२१ असार । सरकारले सात वटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले २०७४ भदौ १४ गतेपछि तत्कालिन शेर बहादुर देउवा सरकाले गरेका सबै राजनीतिक नियुक्तका निर्णयहरु बदर गर्ने निर्णय गरेसँगै सात वटै प्रदेशका प्रमुखहरु पद मुक्त भएका हुन् । ‘प्रदेश प्रमुखहरु नियुक्त गर्ने देउवा देउवा सरकारको निर्णय पनि अब रद्द भएको छ, उनीहरु पनि राजनीतिक नियुक्तीका थिए, अब नयाँ प्रदेश प्रमुखहरु नियुक्त हुनेछन्’, कानुन मन्त्री तामाङले विकासन्युजसँग भने ।

माघ ३ गते बसेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । देउवा सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।सातै प्रदेश प्रमुखकाे नयाँ नियुक्ति छिट्टै गर्ने सरकारकाे तयारी छ ।