युवतीको सामुहिक बलात्कार पछि हत्या

कैलाली, असार २२ । असार १२ गते कार्यालय जान भनेर घरबाट हिँडेकी गौरीगंगा नगरपालिका ११ की माया बिक कार्यालय पुगिनन्। सामाजिक परिचालकको जिम्मेवारीमा रहेकी माया कहाँ गइन् भनेर उसैदिन सोधखोज सुरु भयो।

भाेलिपल्ट पनि सम्पर्कमा नआएपछि परिवारका सदस्यले अात्तिएर प्रहरीमा हराएको उजुरी गरे। धेरैले आफन्तका घरमा गएको अनुमान लगाए तर परिवारका सदस्य त्यो मान्न तयार भएनन्। यसै क्रममा उनको असार १५ गते कैलालीको गौरीगंगा नगरपालिका ११ कै चपथली सामुदायिक वनको जंगलमा शव भेटियो।

एक साता लामो प्रहरीको अनुसन्धानले उनको सामूहिक बलात्कारपछि हत्या भएको बतायो। युवती हत्याको मुख्य योजनाकार ३० वर्षका गणेश बडुवाल, घटनामा संलग्न २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षको भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई शुक्रबार सार्वजनिक गरिएको छ।

 

यौनसम्पर्क गर्न नमानेपछि सामूहिक बलात्कार

गौरीगंगा नगरपलिकामा सामाजिक परिचालिकाका रूपमा कार्यरत माया बिकसँगै अर्का एकजना स्थानीय गणेश बडुवाल पनि कार्यरत थिए। केही दिनसँगै काम गरेका दुवैजना केही नजिक भए।
त्यही मौका छोपेर बडुवालले मायालाई असार ८ गते यौन सम्पर्कको प्रस्ताव राखे। मायाले हकारिन्। त्यसपछि असार ११ गते बढुवालले उनीमाथि हातपात गरे। मायाले आफूमाथि दुर्व्यवहार गरेको सार्वजनिक गरीदिने भनेपछि त्यही झोँकमा बढुवालले अर्का एकजना मनोज बोगटीलाई केही मान्छे जम्मा गर्न लगाए।

बढुवालले गौरीगंगा नगरपालिकाका २७ वर्षीय बोगटीलाई माया मार्ने योजना सुनाए। बढुवालले मायाको हत्यापछि नगरपालिकाबाट उनले पाउने ८० हजार रुपैयाँ आफूले पाउने र त्यो रकम बोगटीलाई दिने आश्वासन दिए। बढुवालको योजनामा बोगटीले पनि सहमति जनाए।

बोगटीले आफ्नै गाउँका सुरज चौधरीलाई र भुवन खातीलाई आफ्नो साथमा लिएर आए। बढुवालले १९ वर्षीय तपेन्द्र बोगटीलाई लिएर आए। पाँचजनाको समूहले १२ गते बिहान ९ बजे बाटोमा कुरिरहे। साढे नौ बजे माया आइन्।

एकाएक उनलाई समाते। मुख थुनेर जंगलतिर लगे। उनको हात बाँधेर सामूहिक बलात्कार गर्न थाले। पाँचजनामध्ये तीनजनाकाे बलात्कारपछि उनको ज्यान गयाे। शुक्रबार हत्यारा सार्वजनिक गर्दै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले घटनाक्रम सुनाए।

हत्यालाई आत्महत्या बनाउने रणनीति

पाँचजनाले सामूहिक बलात्कारपछि सल्फास खुवाएर मायाले आत्महत्या गरेको देखाउने रणनीति बनाएका प्रहरी प्रमुख घिमिरेले बताए। ‘घटनास्थलमा सल्फास पनि भेटियो। हाम्रो अनुसन्धानले मायालाई खुवाउन लगेको अनुमान गरेका छौं’ उनले भने। बर्बर ढंगले मायाको हत्या गरिएको प्रहरीले जनाएको छ।

हात बाँधेर, मुखमा जंगलका पात कोचेर सामूहिक करणी गरेको प्रहरी प्रमुख घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए। उनले भने, ‘तीनजनाले बलात्कार गर्दै गर्दा उनको ज्यान गयो।’ जंगलका झरेका पातहरू मुखमा हालिदिँदा सास पर्न नपाएर युवतीको ज्यान गएको प्रहरीले जनाएको छ।

यसरी पक्राउ परे अपराधी

१२ गते युवती हराएको जाहेरी परेपछि प्रहरी खोजी कार्यमा लागेको थियो। तीन दिनपछि अर्धनग्न अवस्थामा प्रहरीले घनघोर जंगलमा युवतीको शव फेला पार्‍यो।

शव सम्झँदै प्रहरी प्रमुख घिमिरेले भने, ‘घटनास्थल पूर्णवीभत्स थियो। केही कपडा नभएको, हात र मुखमा सल बेरिएको यो देख्दा बलात्कारपछि हत्या भएको हामीले अनुमान लगायौँ।’ १६ गतेको पोष्टमार्टमपछि १७ गतेदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो। सोही दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि वलीको संयोजकत्वमा छानबिन टोली गठन भयो।

अनुसन्धानका लागि वली गाउँ पसे। इलाका प्रहरी कार्यालय चौमालामा आएको उजुरी र गाउलेको बयानका आधारमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो। छानविन टोलीका संयोजक वलीले भने त्यो हाम्रो ‘स्टाटिजी’ थियो। केही शंकास्पदलाई पक्राउ गरे दोषी फरार हुने र गाउँबाट फरार भएकै व्यक्ति घटनामा मुछिएको हुन सक्ने भन्दै प्रहरीले पक्राउ अभियान सुरु गरेको थियो।

प्रहरीले योजना बनाएजस्तै भयो। केही व्यक्ति पक्राउ परे यसैबीचमा गोदावरी नगरपालिका ११ शिवपुरका २७ वर्षीय मनोज बोगटी फरार भए। प्रहरी प्रमुख घिमिरेले भने, ‘भागेका व्यक्तिको आफन्तको घरमा मृतकको मोबाइल बरामद गर्‍यौँ। ऊ पनि दोषी रहेको पुष्टि भयो।’

घटनाको मुख्य योजनाकार प्रहरीले सुरुमै पक्राउ गरेको थियो। तर उनले घटना आफूले नघटाएको दाबी गरेका थिए। फरार बोगटी पक्राउ परेपछि सबै रहस्य सार्वजनिक भएको पत्रकार सम्मेलनमा घिमिरेले बताए।

पक्राउ परेकाहरूलाई तीनवटा कानुन

पासविक ढंगले युवतीको हत्या गर्नेहरूलाई मुलुकी ऐनअन्तर्गत तीनवटा कानुन लाग्ने भएको छ।
पक्राउ परेका पाँचैजनालाई ज्यान मार्ने कसुरमा सर्वस्वसहित जन्मकैद जबरजस्ती करणीमा पाँचदेखि सात वर्षसम्म कैद र सामूहिक करणी गरेकाले थप पाँच वर्ष कैद हुने घिमिरेले बताए।