देशभक्त जनगणतान्त्रिक माेर्चाले विज्ञप्ति जारीगर्दै डा.केसीका जायज माग प्रति समर्थन जनाएको छ

काठमाडौं असार २३ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कर्णाली प्रदेशको जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीको मागलाई वेवास्ता गरी सरकारद्वारा हालै मात्र संसदमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ दर्ता गरिनुले आगोमा घीउ थप्ने काम गरेको बताएको छ । मोर्चाले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको विसंगतिका विरुद्ध यस अघि पनि चौध पटकसम्म अनसन बसिसकेका डा.केसीका जायज मागहरुलाई विना पूर्वाग्रह यथाशिघ्र सम्बोधन गरेर बिग्रदो स्वास्थ्य स्थितिको ख्याल गर्दै उनको जीवन रक्षामा कुनै पनि लापर्वाही नगर्न चेतावनी समेत् दिएको छ ।

शनिवार जारी गरिएको मोर्चाका अध्यक्ष सी.पी.गजुरेलको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भइरहेको विसङ्गतिका विरुद्ध यसभन्दा अघि चौध पटक अनसन बसिसकेका हाडजोर्नी विभागका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी यस पटक कणालीको जुम्लामा अनसन बसेको एक हप्ता बितिसकेको छ । डा. गोविन्द के.सी. ले विगतमा स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका विसगंतिका विरुद्ध बसेका अनसन सरकारले पूरा गर्ने सहमति गरेका विषयहरु समेत् उल्ट्याउने गरी ओली सकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक’ कै भूमिका खेल्ने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसद सचिवालयमा दर्ता गराउनुले आगोमा घीउ थप्ने काम गरेको छ ।’

सरकारले अनसन बसिरहेका गोविन्द केसीलाई उल्टै ‘अधिनायकवादी’ को आरोप लगाएर पूर्वाग्रही दृष्टिकोण पालेको विषयलाई लिएर विज्ञप्तिमा भनिएको छ।डा. केसी सँग वार्ता गरी जायज मागहरु पूरा गर्नुको सट्टा उल्टो अनसनकारीलाई नै ‘अधिनायकवादीको आरोप लगाउनुले यो सरकारको पूर्वाग्रही दृृष्टिकोण स्पस्ट देखिन्छ । यसबाट उनको जीवन रक्षामा थप खतरा पैदा हुँदै जाने संभावना बढेर गएको अवस्थामा हामी डा. के.सी.ले उठाएका जायज मागहरु पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं । साथै, उनको जीवन रक्षामा कुनै पनि किसिमको लापरवाही नगर्न समेत् चेतावनी दिन चाहन्छौं ।

तल भएको विज्ञप्ति पनि पढ्नुहाेस् ।