अछाम जिल्लामा कार्यरत स्वास्थ्यकर्मीले ८महिना देखि तलब नपाएको गुनासो

अछाम, असार २३ । जिल्लामा कार्यरत ५ सय १६ जना स्वास्थ्यकर्मीले ८ महिनादेखि तलब पाउन सकेका छैनन् । ससर्त अनुदानतर्फ स्थानीय तहमा न्यून बजेट आएकाले तलब नपाएका हुन् । चालु आर्थिक वर्षको कात्तिक महिनादेखिको तलब नपाएको गुनासो स्वास्थ्यकर्मीको छ ।

माथिल्लो निकाय र अधिकारीसमक्ष पटक–पटक गुनासो गरे पनि बेवास्ता गरिएको उनीहरूले बताए । स्थानीय तह कार्यान्वयनमा आएसँगै चालु आर्थिक वर्षको सुरुवाती ३ महिनासम्म ससर्त अनुदानबाट विनियोजित बजेटबाट तलब पाए पनि त्यसयता नपाएको स्वास्थ्यकर्मी प्रवेशराज भण्डारीले बताए । ‘स्थानीय तहमा विभागले पठाएको बजेटले ३ महिनाका लागि मात्रै तलब पुग्यो, त्यसपछि पाएकै छैनौं । आर्थिक वर्ष सकिनै लाग्दा पनि कुनै वास्ता गरिएन,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयले समस्या समाधानका लागि पटक–पटक माथिल्लो निकायमा बजेट माग गरेको जनायो । जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले तलब भत्ताको पहल गर्दा पनि हालसम्म कुनै प्रतिक्रिया नआएको बताए । असार मसान्तसम्म समस्या समाधान हुन्छ कि भन्ने आशा गरे पनि समय घर्किंदै जाँदा स्वास्थ्यकर्मी रुष्ट बन्दै गएको ढुंगानाको भनाइ छ ।

‘स्वास्थ्य जस्तो संवेदनशील र अत्यावश्यक क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाउँदा काममा जाँगर नलगाउने, मनोबल कमजोर हुने र आमनागरिकले पाउने सेवा असहज हुनसक्छ,’ ढुंगानाले भने, ‘३ करोड ४९ लाख अपुग भनेर माग गरेकामा १ करोड ७१ लाख रुपैयाँ मात्र स्थानीय तहमा आएकाले तलब दिन सकिएको छैन ।’ स्थानीय तहमार्फत पनि यसका लागि पहल नगरिएको स्वास्थ्यकर्मीको गुनासो छ ।

जिल्लाको साँफेबगर नगरपालिका, मंगलसैन, कमलबजार नगरपालिका र तुर्माखाद गाउँपालिकालगायत धेरै ठाउँमा माग गरेबमोजिम रकम नआएको हो । ‘तुर्माखाद गाउँपालिकामा तलबको लागि एक आर्थिक वर्षमा ४० लाख रुपैयाँ आवश्यक पर्छ । अहिले १२ लाख मात्रै आएको छ,’ गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जय शाहले भने, ‘तलब नपाउँदा स्वास्थ्यकर्मी रुष्ट छन् । सेवा पनि प्रभावित भएको छ ।’

साँफेबगर नगरपालिकामा भने आमा सुरक्षा कार्यक्रमलगायत स्वास्थ्यका कुनै पनि कार्यक्रमका लागि बजेट आएको छैन । ‘फागुनयता स्वास्थ्य स्वयंसेविकाले भिटामिन ‘ए’ खुवाएको रकमसमेत पाएका छैनन्,’ सिनियर अहेब पुष्प बुढाले भने, ‘सुत्केरी महिला र गर्भवती महिलाले नियमित चेकजाँच र प्रसूति भएबापत पाउने यातायात खर्च फागुनबाटै पाएका छैनन् ।

ससर्त अनुदानतर्फको तलबभत्ता शीर्षकमा केन्द्रबाट माग गरेभन्दा थोरै रकम आएकाले स्वास्थ्यकर्मीलाई तलब दिन नसकिएको तुर्माखाद गाउँपालिकाका प्रशासकीय अधिकृत कमल उपाध्यायले बताए । ‘पुँजीगततर्फको बजेट चालुगत बजेटमा रूपान्तरण गर्न मिल्दैन । अन्य शीर्षकबाट पनि तलब मिलाउन नसक्ने अवस्था आयो,’ उनले भने, ‘स्थानीय तहबाट मिलाउँदा त्यो रकम बेरुजु हुन जान्छ । केन्द्रको नै कमजोरी छ । हामीले कोलेनिकामार्फत मागपत्र केन्द्रमा पठाइसकेका छौं । तर केही प्रतिक्रिया आएको छैन ।’

सरकारले खरिदारस्तरका स्वास्थ्यकर्मीलाई ४ हजार १ सय, नासुस्तरलाई ५ हजार १ सय र अधिकृतस्तरलाई ८ हजार ३ सयका दरले मासिक रूपमा स्थानीय भत्ता प्रदान गर्छ । अछामका स्वास्थ्यकर्मी भने यो सुविधाबाट वञ्चित भएको गुनासो गर्छन् ।कान्तिपुरबाट साभार