नेपाल प्रहरीमा तलब कम चाकरी बढी ,राजिनामा दिनेको लहर बढ्दै

 

काठमाडौ, असार २४-हातमा राजीनामा बोकेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका एक प्रहरी हवल्दार भन्दै थिए, ‘प्रहरीको ‘जागिर’ अब पुग्यो ।

 

नेपाल प्रहरीमा करिब १९ वर्ष बिताएका ती हवल्दारले ‘पेन्सनर’ सेवा पूरा गरेकाले राजीनामा दिएको बताएका हुन् । त्यस्तै राजीनामा गर्ने तयारीमा रहेका एक अर्का प्रहरी जवानले पनि प्रहरीमा अवसरभन्दा दुख–कष्ट बढी भएकाले राजीनामा दिने निर्णयमा पुगेको बताए । तलव–भत्ता सुविधा बढ्दैन, ती जवानले दुखेसो पोख्दै भने,‘प्रहरीमा अवसर भन्दा दुःख बढी छ, पीडा सहेर कति जागिर खानु ।

 

रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र टेकुस्थित महानगरीय प्रहरी परिसरमा भेटिएका यी दुई प्रहरी कर्मचारीको जस्तै दुःख– पीडा सहन नसकेर जागिर छोड्नेहरूको लर्को नै लागेको छ । राज्यका प्रमुख तीन सुरक्षा सङ्गठनमध्ये जागिर छोड्नेको सङ्ख्या प्रहरीमा अधिक छ ।

 

सशस्त्र प्रहरी र सेनामा पनि राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका कर्मचारीको सङ्ख्या विगतका तुलनामा आर्थिक वर्ष २०७४÷२०७५ मा बढेको पाइएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै सेवा–सुविधा र वृत्ति विकासप्रति असन्तुष्टि जनाउँदै राजीनामा गर्नेको सङ्ख्या बढेको हो ।

सुरक्षा सङ्गठनमा कार्यरत तल्लो तहका कर्मचारीहरुको तलब स्केल मासिक करिब १७ ÷ १८ हजारसम्म हुन्छ । रासन वापत न्यूनतम दैनिक एकसयदेखि दुर्गममा पाँचसयसम्म भत्ता आउँछ ।

 

यो तलवले परिवार पाल्न त परै जाओस् छाक टार्न नै समस्या परेको गुनासो उनीहरूको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द बढ्दो महँगी र न्यून तलव सुविधाका कारण सबैभन्दा बढी प्रहरी कर्मचारीहरू मर्कामा परेको बताउँछन् ।

 

प्रहरी कर्मचारीले निजामती सेवाको पियनले पाउने जति तलव सुविधा समेत नपाउने गरेका जानकारी दिए।अाजकाे गाेरखापत्र दैनिकमा  छ ।