संविधान संशोधन गर्न प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने

काठमाडौँ, असार २४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ ।
राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको बुझिएको छ ।

यद्यपि, संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे आज छलफल भएपनि टुंगो नलागेको र भोलि सोमबार पुनः बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा छलफल भयो तर भोलि विमान संसदीय दलको बैठक बस्ने र लगत्तै अध्यक्षमण्डलको बैठकबाट निर्णय हुनसक्छ ।”
अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संशोधनको विषयबारे भोलिको बैठकले निर्णय लिने बताउनुभयो ।

सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिने या नलिनेबारे अनिर्णित छ । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरुले बताएका छन् ।
बैठकले पछिल्लो संसदीय काम कारबाहीको समीक्षा गर्न सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

त्यसैगरी, राजपाले पार्टीको भ्रातृ संगठनहरुको नामाकरण गर्ने निर्णय गरेको छ । अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार भार्टीका सबै जनवर्गीय संगठनको अगाडि राष्ट्रिय र पछाडि संघ राखिनेछ ।

बैठकले प्रदेश २ मा सरकार सञ्चालनका लागि समन्वय गर्न समिति गठन गर्ने पनि निर्णय गरेको छ । संघीय समाजवादी फोरमसँग समन्वय गरेर चाँडै समिति गठन गरिने नेता झाले बताउनुभयो । प्रदेश २ को नीति आयोगलाई पनि चाँडै पूर्णता दिने राजपाले उल्लेख गरेको छ ।रासस ,