ढुंगा लागेर किशोरीको घटनास्थलमै मृत्यु

दार्चुला, असार २५ । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिएका छन् ।

विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको बोहराले जानकारी दिएका छन् ।  मृतक भट्ट सोही वडामै रहेको श्री सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत थिइन् ।

घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।रासस,