श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाउने

काठमाडौँ, २६ असार । । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैंकसँगको सम्बन्ध थप सुदृढबनाउने भएको छ । श्रममन्त्री गोकर्णराज विष्टसँग नेपालस्थित विश्व बैंकका प्रबन्धक फिरोज एच. हाडेड जेभोसले मन्त्रालयमा आज भएको भेटवार्तामा दुबै पक्षबीच सम्बन्ध थप सुदृढ गरिने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा मन्त्री विष्टले देशको बहुपक्षीय विकासका लागि नेपाल र विश्व बैंकबीच विगत लामो समयदेखि भएको साझेदारी अझ विस्तारित र सुदृढ हुने बताए । मन्त्रालयको प्राथमिकताबारे जेभोसले राख्नु भएको जिज्ञाशामा मन्त्री विष्टले नेपाल सरकारले जारी गरेको नीति तथा कार्यक्रममा रोजगारी अभिवृद्धि र मानव संशोधन विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारेका थिए ।

नेपालमा हाल उत्पादनशील उमेर समूहका युवाको बाहुल्यता भए पनि उत्पादनमूलक रोजगारीका अवसरको अभावमा नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य हुनुपरेको सन्दर्भमा युवालाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउनका लागि तालीम केन्द्रको सुदृढीकरण गर्ने कार्यसमेत सरकारको प्राथमिकतामा रहेको मन्त्रीले जानकारी गराए । रासस.