दार्चुलाको नाैगाड गाउँपालिका बाढी, पहिरोको उच्च जोखिममा

सांकेतिक तस्बिर

दार्चुला, असार २७ । दार्चुलाको नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा रहेको छ । केहि दिनदेखि भइरहेको निरन्तरको बर्षाका कारण नौगाड खोलामा बाढी आएर गाउँपालिका सदरमुकाम सहित नौगाडको ठूलो भुगोल विपद्को जोखीममा रहेको स्थानीयले बताएका छन् ।

नौगाड खोलाको बाढीले गाउँपालिकाको धुलिगडा खार खडक खण्डका साथै विभिन्न भेग जोड्ने बाटोघाटो अवरुद्ध भएका छन् । स्थानीय मनवीर ठगुन्नाको एक पसल र स्थानीयहरुका केहि घरहरु बगाउनुका साथै होपरीगाड बस्तीका सयौँ घर पसलहरु बाढी पहिरोको उच्च जोखीममा रहेको स्थानिय प्रेम ठगुन्नाले बताएका छन् ।

भौतिक क्षति भएपनि मानविय क्षति नभएको र बाढी पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ ब्यवस्थापन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिएका छन् । नौगडेश्वरी र समैजी आधारमूत विद्यालय सौकेबगरको प्राङगणसम्म कटान भएर विद्यालय उच्च जोखीममा रहेका छन् ।

स्थानीयको ठूलो मात्रामा घर र जमिन बगाएको छ । खार र गोदानी खोलामा यसैबर्ष लगाइएका दुइ ओटा आरसिसि पुल समेत बाढीले बगाएको छ । नौगाड गाउँपालिका १ मा रहेको लक्सेरी आधारभूत विद्यालयको माथिबाट पहिरो खसेर उच्च जोखीममा रहेको छ ।

बाढी र पहिरोको जोखीममा रहेका नौगाड गाउँपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । अझैपनि नदीमा पानिको सतह घटीनसकेको कारण सतर्कता अपनाउन गाउँपालिकाले सबैलाइ आग्रह गरेको छ ।