नेपाल -भारत सिमा सुरक्षा समन्वय बैठकको तयारी पुरा
दार्चुला, असार २८ । दार्चुला सदरमुकाम खलंंगामा बिहिबार बस्न लागेको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकको तयारी पूरा भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका प्रशासन र सुरक्षा अधिकारीहरुको समन्वय बैठक बिहान ११ बजेपछि शुरु हुने छ ।
दुबैदेशको तर्फबाट बैठक प्रस्तुत हुने छलफलका एजेण्डा तयार भएका छन् । दार्चुलाकातर्फबाट बैठकको नेतृत्व प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले गर्नेछन भने भारतको नेतृत्व पिथौरागढ जिल्ला अधिकारी सि रविशंकरले गर्ने सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।
दार्चुलाकातर्फबाट गत फागुन २१ गते भारतको पिथौरागढमा सम्पन्न बैठकको समिक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, वन्यजन्तु तस्करी, मानव वेचबिखन, लागू औषध ओसारपसार, सीमा जोडिएका क्षेत्रमा सुरक्षा समन्वय, सूचना आदानप्रदान, प्रस्तावित झोलुंगे पूल र खोतिला पहिरो लगायतका विषयमा नेपाली पक्षले बैठकको एजेण्डा तयार गरेको छन् ।
यस्तै भारतीय पक्षले सीमा अपराध, अवैध चोरी शिकार, नसालु पदार्थ ओसार पसार, वेचबिखन, सीमा क्षेत्रमा समन्वय, शान्ति सुरक्षा, पूल खोल्ने विषय लगायतमा छलफल गर्ने गरी प्रस्ताव पठाएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन् ।