अावासीय चिकित्सकहरू उत्रिए हडतालमा डा.केसीको जीवन रक्षाको माग गर्दै

काठमाडौं असार  १४ ।दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्ष गम्भीर बन्न सकेको छैन । डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ ।

डा. केसीको मागको सुनुवाई सरकारले नगरेपछि त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्ने जनाएको छ । एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको छ ।

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।

एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने समेत विज्ञप्तिद्वारा स्पष्ट पारेको छ । यता सरकारले भने बलप्रयोग गरी डा. केसीलाई काठमाडौं ल्याउने तयारी गरिरहेको बुझिएको छ ।