संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुंगियो अब कुन प्रदेशमा कति हेर्नुहाेस्

काठमाडौँ, असार ३० । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

उनका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन्। यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो।

संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए।उनका अनुसार प्रदेश १ मा दुईहजार ८०८, प्रदेश २ मा दुईहजार ३४३, प्रदेश ३ मा दुईहजार ६७३, प्रदेश ४ मा दुई हजार २४७, प्रदेश ५ मा दुई हजार ५९७, कर्णाली प्रदेशमा एकहजार ८४२ र प्रदेश ७ मा दुईहजार ६० कर्मचारीको दरबन्दी रहने छ।

प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ। उनले थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोगलगायत बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दीे भने अझै नटुंगिएको बताए। अहिले करिब एकलाख १७ हजार दरबन्दीमा करिब एकलाख छ हजार मात्र कर्मचारी कार्यरत छन्।रासस