सप्तकोशीको नदिमा पानी बहाव बढेसँगै खतराको संकेत रातो वत्ति

सांकेतिक तस्बिर

सुनसरी, असार ३० ।सुनसरीको सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

खतराको संकेतसँगै कोशी ब्यारेजका ५६ मध्ये २४ वटा ढोका खुला गरिएको छ ।

पानीको निरन्तर बहाव बढेपछि भारतीय पक्षसँग सल्लाह गरेर आवश्यकताअनुसार थप ढोका खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो साँझ १ लाख ७५ हजार ८ सय २५ क्युसेक प्रतिसेकेन्ड पुगेको सप्तकोशीको बहाव आज बिहान भने केही कम भएर १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।

पानीको बहावमा थोरै कमी देखिए पनि खतराको संकेत रातो बत्ती बालिएको हो । बहाव बढेसँगै रातो बत्तीले खतराको संकेत दिँदा पूर्वीतटका बासिन्दा त्रसित हुन थालेका छन् ।

०६५ साल भदौ २ गते कोशीको पूर्वीतट भत्किँदा कोशीमा पानीको बहाव १ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड थियो ।

त्यसबेला सुनसरीको कोशी गाउँपालिका डुबान भएर ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए भने ४ हजार बिगाहभन्दा बढी खेतीयोग्य जमीन बगरमा परिणत भएको थियो ।