प्रस्तावित संघीय निजामती ऐन विवादित बन्दै

काठमाडौं, असार ३२ । करिब दुई महिनाअघि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा विवादित बन्दै गएको छ। मस्यौदामाथि समान्य, अर्थ र कानुन मन्त्रालयको फरकफरक धारणा आएको छ भने कर्मचारी संगठनले मस्यौदा हुवहु आएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

मस्यौदामाथि सहमति जुटाउन लोकसेवा आयोगमा प्रस्ताव पठाउन बाँकी नै छ। लोकसेवा आयोगले पनि मस्यौदामा राखिएको केही प्रावधानमाथि असहमति जनाउने आयोगका कर्मचारी बताउँछन्। मन्त्रिपरिषद् बैठकमा लैजानुअघि सो मस्यौदामा कानुन, अर्थ र लोकसेवाको आयोगको सहमति लिनुपर्ने प्रावधान छ।

कानुन र अर्थले सहमति नदिएपछि समान्यले मस्यौदा अघि बढाएको छैन। अर्थले मस्यौदामा राखिएका १२ वटा बुँदामा असहमति जनाउँदै आफ्नो राय दिइसेको छ भने कानुन मन्त्रालयले मस्यौदालाई सहमति नदिई संघीय मामिलामा पुन पठाएको छ। अर्थ मन्त्रालयसँग सहमति लिएर कानुनमा पठाउन कानुन मन्त्रालयले संघीय मन्त्रालयलाई आग्रह गरेको छ । नागरिक बाट ।