बालबालिकालाई श्रममा लगाउनेलाई सेवा सुविधाबाट बन्चित गर्ने

डोटी, साउन २ । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमूख मञ्जु मलासीले नगरपालिका क्षेत्रभित्र बालश्रम प्रयोग गर्ने घरपरिवारलाई नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित गराउने बताएकी छिन।

नगरपालिका क्षेत्रभित्र होटल, यातायात, घरायसी श्रम लगाएतमा बालबालिकाहरुलाई श्रममा लगाईएको भन्दै नगर प्रमूख मलासीले समयमै श्रमबाट मुक्त नगरे नगरपालिकाबाट प्रदान गरिने हरेक सेवा सुविधाबाट वञ्चित गराईने चेतावनी दिएकी हुन् ।

बालबालिकालाई श्रममा लगाउन नपाईने कानुनी व्यवस्था हुँदाहुँदै दिपायल सिलगढी नगरपालिकाभित्र कुनै पनि पेशा, व्यवसाय वा घरायसी श्रममा लगाईएका बालबालिकाको अधिकारका लागि नगरपालिकाले कडा रुपमा कदम चाल्ने उनले बताइन् ।

उनले भनिन्–‘बालबालिकालाई श्रममा लगाउनेहरु विरुद्ध र बालबालिकाको अधिकारका लागि नगरपालिकाले काम गर्ने दायित्व हो, हामी यसमा कटिबद्ध भएर तिव्रताका साथ लाग्छौं ।

डोटीमा सरकारी कर्मचारीहरुका घरमा समेत घरायसी श्रममा बालबालिकाको प्रयोग देखि होटल, यातायातलगायत विभिन्न क्षेत्रमा बाल श्रम प्रयोग भइरहेको विषय लज्जास्पद भएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताएका छन् ।

बाल श्रम मुक्त गर्ने नाममा श्रम शोषण भइरहेको ठाउँबाट छुटकारा दिलाउनु मात्रै समस्याको समाधान नभएको र बालबालिका श्रममा लाग्नु एवं लगाईनुको कारण पत्ता लगाई समाधानको उपाय खोजेमा बालश्रम मुक्त गराउने अभियान सार्थक हुने पौडेलले बताएका छन् ।

नगरपालिका र सबै सरोकारवालाहरुले चाहेमा स्थानीय प्रशासनले कानुनी कदम चाल्न कुनै कसर बाँकी नराख्ने उनको प्रतिवद्धता छ । जहाँ नैतिकता कमि हुन्छ, भनाइ र गराइ फरक हुन्छ त्यहाँ कानुनी कारवाहीको आवश्यकता हुने उनले बताएका छन् ।

दिपायल सिलगढी नगरपालिकाले तत्कालिन र दीर्घकालिन योजना बनाई बाल श्रम मुक्त गराउने अभियान सञ्चालन गर्न आवश्यक रहेको र आवश्यकता अनुसार प्रहरीबाट गर्नुपर्ने सहयोगका लागि जिल्ला प्रहरी कार्यालय तत्पर रहेको डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले प्रतिवद्धता जनाएका छन् ।

डोटीमा होटल व्यवसायी संघमा आवद्ध ३ सय ९२ होटलमध्ये करिब १६/१७ वटा होटलहरुले बालश्रमको प्रयोग गरिरहेको स्विकार गर्दै ति होटलबाट बालश्रम मुक्त गराउन सबै सरोकारवालाहरुले आवश्यक भूमिका खेलिदिन संघका कोषाध्यक्ष सिद्धराज जोशीले सबैमा आग्रह गरेका छन् ।

कम ज्यालामा बाल श्रम गराउन सजिलो भएकाले व्यवसायीहरुले अटेरी गरेर श्रममा लगाईरहेको उनले बताएका छन् । विभिन्न क्षेत्रमा प्रयोग भईरहेको बाल श्रमबारे बालबालिकाको उमेर, आर्थिक अवस्था, श्रमको प्रकृति आदिका आधारमा वर्गिकरण गरी नगरपालिकाले योजना बनाउन आवश्यक रहेको दिपायल सिलगढी नगरपालिका अन्तरगत महिला तथा बालबालिका इकाइ प्रमुख सोहना जोशीले बताइन् ।

कहाँ र कसरी बाल श्रमको प्रयोग भइरहेको छ भन्ने विषयमा नगरपालिकाले दुइ÷तीन दिनभित्रै तथ्याङ्क संकलन गरिसक्ने नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताएका छन् । तत्पश्चात बाल श्रम प्रयोग नगरिएका घरधुरीमा नगरपालिकाको छापसहितको हरियो झण्डा गाड्ने योजना रहेको उनले बताएका छन् । जसले गर्दा हरियो झण्डाको प्रयोग नगरिएका घरधुरीले बाल श्रम प्रयोग गरिरहेको जनाउने र नैतिक रुपमा दवाव सिर्जना हुने नगरपालिकाको विश्वास छ ।

कार्य दल पनि गठन

बालश्रम र बाल अधिकारका विषयमा आवश्यक मापदण्ड बनाई पहल गर्न र अभियान सफल पार्नका लागि दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्काको संयोजकत्वमा एक कार्य दल समेत गठन भएको छ ।

जसमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, महिला तथा बालबालिका इकाई, गैरसरकारी सँस्था, पत्रकार, अधिकारकर्मी लगाएत सरोकारवालाहरुको प्रतिनिधित्व रहेको छ । उक्त कार्यदलले बालश्रम निषेध सम्बन्धी आवश्यक मापदण्ड बनाई सोहि बमोजिम कार्य गर्ने जनाईएको छ ।

डोटीको प्रमुख व्यापारिक क्षेत्र दिपायल, सिलगढी लगाएतका क्षेत्रमा नगरपालिकाभित्रकै र अन्य क्षेत्रबाट आएका बालबालिका पनि श्रममा प्रयोग भईरहेका छन् । बाल श्रम र अधिकारका विषयमा समाचार लेख्ने पत्रकार, मुद्दा उठाउने विषयगत निकाय, गैर सरकारी सँस्था वा अधिकारकर्मीहरुले उल्टै धम्की तथा गालिगलौंच सहनुपर्ने अवस्था छ ।

दिपायल सिलगढी नगरपालिकाले बालबालिकाको श्रम र अधिकारका विषयमा चालेको कदम सह्रानीय भएको साथै जिल्लाका अन्य स्थानीय तहले पनि यस विषयमा कदम चाल्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।