प्रदेश ७मा अार्थिक बर्षको तथ्याङ्क हेर्दा२०७४/७५मा दुर्घटना२१९सवारी साधन

धनगढी साउन ३। आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश ७ मा २१९ सवारी साधनहरु दुर्घटनामा १६६ जनाको मृत्यु भएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जनकारीअनुसार अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको तथ्याङ्कमा देखाएको छ ।

यस आर्थिक वर्षमा प्रदेश ७ मा १९ ट्रक/टेङकर, ३५ बस, ३१ जीप–कार, २७ टेक्टर, ७ टेम्पो, ८२ मोटरसाइकल, १६ साना सवारी र २ अन्य गरी जम्मा २ सय १९ सवारी साधनहरु दुर्घटनामा परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक टेकबहादुर जोराले जानकारी दिएका छन् ।

जोराका अनुसार हरेक आर्थिक वर्षमा मोटरसाइकलहरु बढी सवारी दुर्घटनामा पर्ने गरेको र यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी सवारी दुर्घटनामा मोटरसाईकलहरु रहेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार प्रदेश ७ मा आर्थिक वर्ष २०७१/०७२ मा २ सय ११, २०७२/०७३ मा २ सय ७ र २०७३/०७४ मा २ सय ५५ ओटा सवारी साधनहरु दुर्घटनामा परेको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक बर्षको भन्दा यस आर्थिक वर्षमा दुर्घटनामा केही कमी आएको छ । यस आर्थिक वर्षमा सवारी दुर्घटनामा परि १ सय १३ जना पुरुष, ३६ जना महिला र १७ जना बालबालिका गरी जम्मा १६६ जनाको मृत्यु भएको छ । त्यस्तै १ सय ३३ जना गम्भीर घाइते भएका छन् भने २ सय ५ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको भएपनि मानविय क्षती भने यस आर्थिक वर्षमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश ७ को पहाडी जिल्लाभन्दा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी दुर्घटना हुने गरेको निरिक्षक जोराले जानकारी दिएका छन् । ट्राफिकको नियम पालना नगर्नु, क्षमता भन्दा दोब्बर यात्रु तथा सामान राख्नु, मदिरा सेवनगरी सवारी साधनहरु चलाउनु र सडकको अवस्था राम्रो नहुनु सडक दुर्घटनाका प्रमुख कारणहरु रहेको उनको भनाइ छ ।

जोराकाअनुसार अहिले पहाडी जिल्लाहरुमा ईन्जीनियरको नाप नक्सा बिनानै मापदण्ड विपरित जथाभाबी डोजरले सडक खन्ने र सोही सडकमा सवारी साधनहरुको संख्या वृद्धी हुदै गएकाले दुर्घटना बढदै गएको बताएका छन् । चालकको लापरबाहीका कारण ७७ प्रतिशत दुर्घटना हुने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको उनले बताएका छन् ।

दुर्घटनामा न्यूनीकरण ल्याउनका लागि चालकसंग १ मिनेट र यात्रुसंग २ मिनेट जनचेतनामुलक कार्यक्रम प्रत्येक दिन प्रहरीले गर्दै आएको समेत उनले बताएका छन् ।

दुर्घटना न्युनीकरण र अन्य कार्यक्रमका लागी क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियालले प्रदेश ७ को मन्त्रालयमा सुझाब पत्र बुझाएको र उक्त सुझाव कार्यान्वयनको चरणमा रहेको प्रहरी निरिक्षक जोराले जानकारी दिएका छन् ।

त्यस्तै अघिल्लो आर्थिक बर्षको भन्दा यस आर्थिक बर्षमा प्रदेश नम्बर ७ मा राजस्व संकलनमा बृद्धि आएको छ । प्रहरीको तथ्याङ्क अनुसार प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७१/०७२ मा २ करोड १५ लाख ३९ हजार ३ सय ५०, २०७२/०७३ मा २ करोड १३ लाख ८३ हजार ५०, २०७३/०७४ मा २ करोड ७५ लाख १३ हजार र २०७४/०७५ मा ३ करोड ३० लाख ७४ हजार ५ सय राजस्व संकलन भएको छ ।