बाजुरा जिल्लामा ३८करोड भन्दा बढी बजेट फ्रिज

बाजुरा, साउन ६ । बाजुरा जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा झन्डै ३८ करोड भन्दा बढी रकम बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराकाअनुसार जिल्लामा गत आर्थिक वर्षमा चालू तथा पुँजीगत दुवैतर्फ गरी ३८ करोड ९७ लाख १९ हजार २ सय ३२ रुपैयाँ खर्च हुन नसकी फेर्ता भएको हो ।

चालू खर्च तर्फ विनियोजित कुल ३ अर्ब ३० करोड ६३ लाख ९६ हजार ४ सय ३४ रुपैयाँ बजेटमध्ये ३ अर्ब ७६ करोड १८ लाख ७ हजार २ सय १८ रुपैयाँ मात्र खर्च भएको छ । चालू खर्चतर्फ कुल ९३.०३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका कोष नियन्त्रक बिष्णु दत्त जोशीले जानकारी दिएका छन् ।

यस्तै पुँजीगततर्फ बाजुरामा ७३.७६ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ विनियोजित ६० करोड ८० लाख ०१ हजार रुपैयाँ बजेटमध्ये ४४ करोड ८४ लाख ९१ हजार ८७ रुपैयाँ मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका अनुसार चालू खर्चतर्फ छुट्याइएको बजेटमध्ये २३ करोड २० लाख ९ हजार २ सय ८० रुपैयाँ फ्रिज भएको छ भने पुँजीगततर्फ १५ करोड ९५ लाख ९ हजार ९ सय ५२ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक जोशीले बताएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार बाजुरामा यसै आर्थिक वर्षमा ७ करोड ८० लाख ४३ हजार ९ सय ५२ रूपैयाँ राजस्व संकलन भएको बताएको छ ।

गत बर्षको तुलनामा ४७ प्रतिशतले राजश्वमा बृद्धी भएको बताएको छ । राजस्वमा वृद्धि हुनुको कारण गाउपालिका नगरपालिकाहरूले कर बढि उठाएका कारण राजश्वमा वृद्धि भएको कोष नियन्त्रक जोशीले बताएका छन् ।

जिल्लामा रहेका ९ ओटै स्थानिय तहको खर्च र बाकी रकम आउन बाकी रहेको कोष तथा लेखा नियन्त्रक जोशीले बताएका छन् । त्यसै गरि बिषयगत कार्यालयको छुट्टाछुट्टै बजेट फ्रिजको खाका तयार गर्न बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराले जनाएको छ ।