अाज सोमबार हरिशयनी एकादशी

काठमाडौँ, साउन ७।  आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् ।

ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिनुभयो ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

पाशुपत क्षेत्रमा तुलसी वितरण गरिने

यसैबीच पुडासैनी मैत्री समाजले यही साउन ७ गते हरिशयनी एकादशीका दिन पाशुपत क्षेत्रमा १० हजार तुलसी वितरण गर्ने भएको छ । समाजले राम तुलसी र कालो तुलसी गरी १० हजार तुलसीका बिरुवा निःशुल्क रुपमा वितरण गर्ने जनाएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा बिहान ७ बजेदेखि साँझसम्म तुलसीका विरुवा उपलब्ध गराइनेछ ।

धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ । एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ । प्रतिव्यक्ति तीनवटा तुलसीका विरुवा वितरण गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने बताइएको छ । रासस