साउनमा मेहेन्दी र चुरा लगाउने युवतीमा क्रेज बढ्दै

धनुषा, साउन ७ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो ।

मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्वका रूपमा लिइन्छ ।

 

महेन्द्रनगरको एक चुरा पसलमा भेटिएकी मनिषाले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताउनुभयो । आफ्नो नाडीको चुरा खेलाउँदै उहाँले खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ भन्नुभयो । उहाँले हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको उहाँको भनाइ छ ।

 

कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्दछन् । कहिल्यै हरियो चुरा नलगाउने युवतीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन् । नारीमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसले पनि मख्ख छन् ।

 

महेन्द्रनगरस्थित मीना शृंगार पसलका प्रोप्राइटर वीरेन्द्र साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताउनुभयो । साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।

 

यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको संस्कृतिविद् रमापति चौधरी बताउनुहुन्छ । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । मेहन्दी लगाउने चलन भने छिमेकी देश भारतबाट भित्रिएको बताइन्छ ।

 

यतिखेर बजारमा हरियो पोशाकमा सजिएर हातमा हरियो र रातो चुराको साथै हातमा विभिन्न डिजाइनको मेहन्दी लगाएर युवती समूहगत रुपमा हिँडेको साँच्ची नै निकै आकर्षक देखिन्छ ।

 

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि आफूहरु हरियो चुरा लगाउँदै आएको ढल्केवरकी पवित्रा शर्माको भनाइ छ ।

 

त्यसैगरी महेन्द्रनगरकी नमिता उप्रेतीले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै र हरियो चुरा र मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताउनुभयो । परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी र चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्, उहाँले भन्नुभयो, “घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन ।

 

विवाहिताले पतिको सुस्वास्थ्य एवं दीर्घायु र अविवाहितले सुयोग्य पतिको कामना गर्दै व्रत बस्ने चलन छ । यस महिनामा विशेष गरी प्रत्येक सोमबार महिला व्रत बस्छन् ।

 

नेपाली हिन्दू नारीले विशेष गरेर साउनलाई हर्षोल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै पनि बढ्दो देखिन्छ ।

 

पछिल्लो समय हातभरि मेहन्दी लगाएर सजिसजाउ हुँदै हिन्दू महिलाले शिवको पूजापाठ, आराधना र भक्तिभाव प्रकट गरेर देखाउँदै आएको सक्रियता र बोलबम तीर्थयात्रा गर्ने परम्पराले हिन्दू धर्मको महिमा अझै बढिरहेको छ ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगारका पसलमा चुरापोते अनि हरियो, राता, पहेँला बस्त्र खरिदकर्ताका भीडले व्यापार बढिरहेको देखिन्छ ।रासस ,