कम्युनिस्ट सरकार विरुद्ध अस्वभाविक घेराबन्दी

कञ्चनपुर, साउन ७ । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका नेताहरुले कम्युनिष्ट सरकार विरुद्ध अस्वभाविक घेराबन्दी गरिएको जनाउँदै त्यस विरुद् जनतालाई सचेत बनाउन आव्हान गरेका छन् ।

 

 

प्रेस चौतारी नेपाल कञ्चनपुर र प्रेस सेन्टर नेपाल कञ्चनपुरले आइतबार नेकपाको पार्टी कार्यालयमा आयोजना गरेको समसामयिक राजनीतिक परिस्थिति विषयक कार्यक्रममा नेताहरुले दुई तिहाईको कम्युनिष्ट सरकार विरुद्ध भ्रम फैलाएर कमजोर बनाउने षडयन्त्र सुरु गरिएकोमा चिन्ता जाहेर गरे ।

 

 

नेकपाका केन्द्रीय कमिटी सदस्य बिक्रम बहादुर शाहीले कम्युनिष्ट सरकारको नीति, कार्यक्रम र बजेटबाट आत्तिएका केही शक्तिले कम्युनिष्ट सरकार कमजोर बनाउने सपना देखेर घेराबन्दी गरिएको बताए ।

 

 

‘दुई तिहाईको कम्युनिष्ट सरकार केन्द्रमा छ, प्रदेश र स्थानीय सरकार पनि उसको छ, सबैतिर कम्युनिष्टकै सरकार भएपछि केही शक्ति यसलाई कमजोर बनाउन घेराबन्दीमा लागेका छन्’ केन्द्रीय सदस्य शाहीले भने,‘यो कम्युनिष्टको समाजवादी, साम्यवादी शासन व्यवस्था पुग्ने लक्ष्य रोक्न गरिएको षडयन्त्र हो, यो षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन दिदैनौ ।

 

काँग्रेस लगायतका केही शक्तिले सरकार कमजोर बनाउन डा. गोविन्द केसीलाई अघि सारेको उल्लेख गर्दै नेता शाहीले दुई तिहाईको सरकारले कुनै पनि हालतमा संविधान विरोधी मागको सम्बोधन नगर्ने बताए ।

 

 

नेकपाका अर्का केन्द्रीय सदस्य देबीलाल चौधरीले पार्टी एकतापछि संक्रमणकालिन अवस्था देखिएको उल्लेख गर्दै छिट्टै पार्टीका सबै सरंचना एकीकरण हुने बताए ।

 

 

‘पार्टी एकीकरणपछि संक्रमणकालिन अवस्था छ, यस्तो अवस्थामा विपक्षीले केही षडयन्त्र गर्न खोजेका छन्,’ केन्द्रीय सदस्य चौधरीले भने,‘यो षडयन्त्र विरुद्ध एक भएर लाग्छौ, छिट्टै नै पार्टीका सबै संरचना एकीकरण गरी पार्टी बलियो बनाउँछौ ।

 

 

नेकपा प्रदेश ७ संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ्गले कम्युनिष्ट सरकार विरुद्ध गरिएको घेराबन्दी विरुद्ध पार्टीका सबै संगठन परिचालन हुनु पर्नेमा जोड दिए । आन्तरिक मतभेद छलफल गरी हल गर्न सकिने उल्लेख गर्दै उनले कम्युनिष्ट सरकार बलियो बनाउन सबै नेता कार्यकर्ता र शुभ चिन्तकहरुले लाग्नु पर्नेमा जोड दिए । प्रमुख सचेतक तामाङ्गले प्रदेश ७ को राजधानी र नामाकरणका लागि प्रदेश सभामा प्रवेशको अन्तिमर तयारी गरिएको जानकारी दिए ।

 

 

नेता ईश्वरी खरेलले स्थानीय सरकारलाई लिएर गुनासो आएकाले बसेर छलफल गरिनु पर्ने धारणा राखे । नेकपाका नेता टेकेन्द्र प्रसाद भट्टले दुई पार्टी एकीरण भएर ठूलो कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै पार्टीभित्र देखिएका कमजोरी आपशी छलफल गरी जानु पर्नेमा जोड दिए ।

 

 

नेता बीर बहादुर थापाले सरकार विरुद्ध सुनियोजित रुपमा घेराबन्दी भएकाले त्यस विरुद्ध लाग्नु आव्हान गरे । ‘पार्टी एकीकरणपछि संक्रमणकालको अवस्था छ, केही नेता कार्यकर्तामा अधैर्यता पनि देखिएको छ’ उनले भने,‘सरकार विरुद्ध घेराबन्दी गरिएको छ, त्यसका विरूद्ध सबै एक भएर जाऔ ।

 

 

प्रदेश साँसद लाल बहादुर खड्काले प्रदेश समाचारलाई मिडियामा प्राथमिकता दिन आग्रह गरे । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकारले कम्युनिष्ट सरकारको सपनालाई साकार पार्ने गरी काम गरिरहेको बताए । ‘चुनावमा जुन नारा अघि सारेका थियौ, त्यसका आधारमा अघि बढेका छौ’ उनले भने,‘ जनतालाई सेवा दिन, समृद्ध राष्ट्र बनाउने कुरालाई केन्द्रमा राखेर गएका छौ ।

 

 

भीमदत्तका सबै कार्यपालिका बैठक सर्वसम्मत रुपमा गरिए पनि बाहिर आएर सुनियोजित रुपमा दुष्प्रचार गरिएकोमा चिन्ता जाहेर गरे । नेता हरि प्रसाद जोशीले स्थानीय तहले आफूले गरेका कामको जानकारी प्रेस नोट बनाएर पठाउनु पर्नेमा जोड दिए ।

 

 

कार्यक्रममा नेताहरु रण बहादुर महरा, गोपाल रसाइली, बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द, वरिष्ठ पत्रकार खेम भण्डारी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतले धारणा राखेका थिए ।