२६ दिन देखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु

काठमाडौं,९ साउन । विगत २६ दिनयतम देखि अनसनरत डा. डा गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ । सरकारी पक्षको आन्तरिक छलफलपछि बिहान ९ बजेका लागि बोलाइएको वार्ता पौने २ बजेदेखि सिंहदरबारमा सुरु भएको हो ।

केसी पक्षको वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज सिंह माग पूरा हुनेमा विश्वसा व्यक्त गरे ।

वार्तामा सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल, सह सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी उपस्थित छन् ।

यस्तै केसी पक्षबाट डाक्टर अभिषेक सिंह, डा जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, कानून व्यवसायी सुरेन्द्र भण्डारी र डाक्टर सुमित पाण्डे सहभागि छन् ।

यसअघि आज बिहान डाक्टर गोविन्द केसीको मागका सम्बन्धमा सरकारी वार्ता टोली, विज्ञ र सम्बन्धित सरोकारवालासँगको परामर्शमा जुटेको थियो ।

सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको हो ।

विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर सरकारी पक्ष औंपचारिक वार्तामा बसेको बताइएको छ ।

सरकारी वार्ता समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आफूहरु परामर्शमा रहेको तथा वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बन्दै गएको बताए ।

केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच उक्र भएको वार्तामा केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेको बताइएको छ ।

मंगलबारको वार्तामा डाक्टर केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनको लिखित बुँदमा नै दिएको बताइएको छ । उक्त लिखित प्रस्तावमा १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्नेलगायतका बुँदाहरु समेटिएको जनाइएको छ ।