सरकार र अनसनरत डा.गोविन्द केसी पक्षबीचको वार्ता असफल

फाइल तस्बिर

काठमाडौं– सरकार र अनसनरत डा.गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षबीचको वार्ता असफल भएको हो ।  डा.गोविन्द केसी पक्षले आफ्नो मागका बारेमा सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप लगाएको छ ।

केसी पक्षले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्रै आगामी दिनमा वार्तामा बस्ने अडान लिँदै बाहिरिएको छ । बाहिरिए लगत्तै डा.केीि पक्षधरले एक विज्ञप्तिमा जारी गर्दै सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै डा.केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको आरोप लगाएको छ । वार्ताका लागि सरकार पक्षका नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए ।
 

प्रेस विज्ञप्ति

डा गोविन्द केसी १५ औं सत्याग्रहको २६ औं दिनमा रहनुभएको यहाँहरुलाई विदितै छ । यसबीच सरकार तथा डा केसी दुवैका तर्फबाट वार्ता टोली गठन भएर विभिन्न चरणमा वार्ता समेत भइसकेको छ । अध्यादेश बमोजिमको चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा केसीको मागको सन्दर्भमा यस अगाडि सरकारले तोडमोड गरेर संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने डा केसीको अडान रहेको थियो । तर वार्ताको क्रममा हदैसम्म लचकता अपनाउँदै डा केसीका तर्फबाट विधेयक फिर्तीको माग थाँती राख्दै विधेयकका प्रावधानहरुमा सुधार गरी सहमति जुटाउनका लागि सरकार पक्षसँग विभिन्न चरणका अनौपचारिक र औपचारिक छलफलमा सहभागी भएका थियौं । 

तर आज २६औं दिनमा डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा। केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ । यो अवस्थामा थप अलमल गरेर डा। केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं । 

त्यसैले यस्तो संवेदनशील समयमा आएर छलकपटपुर्वक सत्याग्रही डा। केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौं । साथै हामीले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं । 

डा अभिषेक राज सिंह
संयोजक
डा गोविन्द केसी वार्ता टोलीको संयोजक