शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्रालयका पाँच सहसचिव कामविहीन

काठमाडौं, साउन १० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।

 

 

नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिएपछि बाँकी रहेका ५ सहसचिव कामविहीन भएका हुन् ।

 

 

केन्द्र गठन भएको १० दिन पुगिसक्दा समेत मन्त्रालयले ती सहसचिवलाई कुनै काम दिएको छैन । ‘अहिले त कार्यालय आयो, पुरानै कार्यालयमा बस्यो, हाजिर ग¥यो फर्कियो, यसरी नै हाम्रो दिनचर्या चल्न थालेको छ’ –कामविहीन भएका एक सहसचिवले नेपाल समाचारपत्रसँग भने ।

 

 

कामविहीन भएलगत्तै ४ सहसचिवको बैठकले तत्काल कामको बाँडफाँडसहित जिम्मेवारी दिन मन्त्रालयलाई आग्रह गरेका थिए । सह–सचिवबीच यही साउन २ गते भएको निर्णय मन्त्रालय पुगेलगत्तै मन्त्रालयले विघटन भएका निकाय शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र र शिक्षा विभाग आफैं समन्वय गरी काम गर्न निर्देशन दिएको थियो ।

 

 

तर मन्त्रालयले साउन ४ गते शिक्षामन्त्रीको कार्यकक्षमा भएको बैठकले केन्द्रको महानिर्देशकको जिम्मेवारी पौडेललाई दिएको पत्र पठाएको थियो । अन्यलाई भने जिम्मेवार विहीन बनाएको थियो।

 

 

एउटै संरचना अनुसार अन्य सहचिवलाईसमेत जिम्मेवारी दिनुपर्ने अवस्थामा ४ सहसचिवलाई पेन्डुलम बनाउनु मन्त्रालयको खराब नियत देखिएको मन्त्रालयको कर्मचारीले आरोप लगाएका छन । शिक्षा मन्त्रालय अन्तर्गत २२ सहसचिव छन् । -नेपाल समाचारपत्रबाट