सशस्त्र प्रहरी बल बिहीबारदेखि नयां संरचनामा

काठमाडौं, साउन ११ । अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ ।

 

सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ ।

 

यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ । प्रदेश प्रहरी र संघीय प्रहरीबीच कानुन कार्यान्वयनमा मतभेद भयो भने पनि सशस्त्र प्रहरी बलले पुलको काम गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

 

उहांले भन्नुभयो –हिजो राज्यको पहिलो सुरक्षा निकायको रुपमा नेपाल प्रहरी रहेको थियो अव नेपाल प्रहरीको संरचनामा फेरबदल आउने भएपछि सशस्त्र प्रहरी बलले केन्द्र सरकारको उपस्थितीको रुपमा सशस्त्र प्रहरी बल अव ७७ जिल्लामा नै रहने छ ।

 

बिगतमा एउटै जिल्लामा बिभिन्न नाममा ५ वटा सम्म कार्यालय रहेको कारण काम कारवाहीमा समेत असहजता आएकाले अव भने जिल्लामा एउटै मात्र मुख्य कार्यालय रहने र त्यही कार्यालयले नै जिल्लाको शान्ति शुरक्षा कायम राख्न समन्वय गर्ने उहांले जानकारी दिनुभयो ।

 

ब्यारेक संरचनामा रहनु पर्ने संगठनमा बिगतमा नेपाल प्रहरीको जस्तै देखिने संरचना रहेकाले लागू भएको नयां संरचनामा भने आमुल परिर्वतन गरिएको छ ।

 

बिहीबारबाट लागू भएको नयां संरचनामा गणपतिलाई शक्तिशाली बनाइएको छ भने यस अघि बोर्डर आउटपोष्ट (विओपी) मा खटिने सशस्त्र प्रहरी निरीक्षकलाई प्रहरी महानिरीक्षकले खटाउने गरेकोमा अव भने जिल्लामा रहेका एसपीले नै खटाउन सक्ने भएको छ ।

 

भारत तथा चीनको सीमा क्षेत्रको सुरक्षाकालागि वीओपी स्थापना गर्नुपरे सशस्त्र मुख्यालयबाट गृह मन्त्रालय हुदै मन्त्रिपरिषदले निर्णय गरेर स्थापना गर्नु पर्ने झन्झटिलो प्रकृयालाई समेत नयां संचनाले अन्त्य गरिदिएको छ ।

 

नयां संरचना अनुसार सीमा सुरक्षामा थप पोष्ट तथा जनशक्ति थप गर्नु पर्ने भए जिल्ला सुरक्षा समितिको निर्णयबाट नै खटाउन सक्ने ब्यवस्था गरिएको छ ।

 

यस अघि एउटै प्रकृतिका संगठनमा फरक फरक संख्यामा सशस्त्र प्रहरीको दरवन्दी रहदै आएकोमा अव भने गणमा ६ सय २१ र गुल्ममा १ सय ६० को दरवन्दी रहने गरी ब्यवस्था गरिएको पनि डिआईजी पाण्डेले बताउनुभयो ।

 

एउटा उदेश्य लिएर स्थापना भएको सशस्त्र प्रहरी बलले बल्ल सोचेजस्तो संरचना पाएको सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई बताउनुहुन्छ ।

 

सशस्त्र प्रहरी बल अर्ध सैनिक बल भएकाले अव सिपाही देखि प्रहरी निरीक्षकमा नियुक्त हुदा आफ्नो युनिट तोकिने र गण, गुल्म नै सरुवा हुने भएकाले सरुवाकोलागि कसैले पनि दवाव दिन नसक्ने उहां ठोकुवा गर्नुहुन्छ ।

 

 

नयां संरचना अनुसार मुख्यालयमा ३ बिभाग रहने छन भने ७ प्रदेशमा ७ बाहिनी र उपत्यकामा १ बाहिनी रहने गरी संरचना फेरबदल गरिएको छ । मुख्यालयमा रहेका बिभागहरुमा कार्य तथा सीमा सुरक्षा बिभाग, मानव स्रोत बिभाग र सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान रहेका छन । पछिल्लो संरचनामा ३६ वटा गण, ५६ वटा गुल्म र जिल्ला सुरक्षा समितिले आवश्यकता अनुरुप विओपी बढाउन तथा घटाउन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ । -नेपाल समाचारपत्रबाट