डा. केसीले तोडे २७ दिन लामो अनशन नौ बुँदे सहमति गरेर

 काठमाडौं, साउन ११ । काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

 

तीन दिनदेखिको दुवै पक्षलाई मिलाउन मध्यस्थता गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वसभामुख सुवास नेम्वाङ र त्रिविका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले बिहीबार राति सहमतिपत्रमा हस्ताक्षर भएलगत्तै केसीलाई जुस खुवाएका थिए ।

 

त्यसपछि केसीलाई थप उपचारका लागि आईसीयूमा भर्ना गरिएको छ । सहमतिअनुसार अब १० वर्षसम्म उपत्यकामा नयाँ कलेज खोल्ने आशयपत्र प्रदान गरिनेछैन तर यसअघि नै आशयपत्र प्राप्त गरी पूर्वाधार तयारी गरिसकेका कलेजका हकमा भने सरकारले मुआब्जा दिएर किन्न सक्नेखालको सहमति भएको छ ।

 

त्यस्ता कलेजले सरकारलाई बिक्री नगर्ने तर उपत्यकाभन्दा बाहिर जान चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने गरी चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने सहमति छ ।\

 

‘यो ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टर र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिनेछैन,’ सहमतिमा उल्लेख छ । तर आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाका हकमा यस्ता शिक्षण संस्थाले आयोगले प्राथमिकता तोकेका क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा नेपाल सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउनेछ ।

 

त्यसैगरी डा. केसीसँग भएको सहमतिमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, मेडिकल कलेजहरुले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने, मेडिकल कलेज चलाउन ३ बर्षसम्म आफ्नै अस्पताल सञ्चालन गरेको हुनुपर्ने उल्लेख छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी भर्नाबारे कार्यदल बनाउने, विश्वविद्यालय र प्रतिष्ठान पदाधिकारी नियुक्ति गर्ने मापदण्ड बनाउन १५ दिनभित्र कार्यदल गठन गर्ने सहमति पनि सरकार र केसीपक्षबीच भएको छ ।

 

डा. केसीले अनशनमा उठाएका मुख्य मागहरू करिब सम्बोधन भएका छन् । सहमतिपछि प्रतिक्रिया दिँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिमूलक संस्था संघीय संसद नै सबै समस्या समाधान गर्ने थलो हो भन्ने स्थापित भएको बताए । उनले डा. केसीले पुनः अनशन बस्न नपर्ने गरी सहमति कार्यान्वयन गरिने पनि स्पस्ट पारे ।